काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर पार्टी आधिकारिकता र चुनाव चिह्न सूर्य कसले पाउने विवाद निर्वाचन आयोगमा विचाराधीन रहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आयोगका वरिष्ठ कर्मचारीलाई सरुवा गरेको आरोप लागेको छ ।
आयोगका कर्मचारीको सरुवापछि प्रचण्ड–नेपाल पक्षीय नेकपाले षड्यन्त्रको आशंका गरेको छ । ओलीले कर्मचारी सरुवापछि नेकपाको आधिकारिकता आफू लिनसक्ने सम्भावना देखेर प्रचण्ड खेमामा खैलाबैला मच्चिएको छ ।
प्रचण्ड–नेपाल पक्षीय नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यसको आशंका गरेका छन् । उनले लेखेका छन्, ‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धी बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’
यसअघि सोमबार विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत नेताहरू निर्वाचन आयोगमै पुगेर पदाधिकारीसँग छलफल गरेका थिए । त्यसको भोलिपल्ट कर्मचारी सरुवाको खबर आउनुलाई प्रचण्ड–नेपाल पक्षले गम्भीर रूपमा लिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।