काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्दै पुस १३ गते सोमवार प्रदर्शन गर्ने भएको छ ।
केन्द्रीय कार्यसमितिको बिहीवारको बैठकले १६५ संघीय निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बिहीवार बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले तत्काल विरोधका कार्यक्रम ल्याउन नेतृत्वलाई दबाब दिने निर्णय गरेको थियो । मंगलवारदेखि दिनहुँ बैठक बसिरहे पनि विरोधका कार्यक्रम गर्ने कि नगर्ने भन्नेमा कांग्रेसमा २ धार देखिएको थियो ।
बिहीवारको बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको कदमविरुद्ध सडक संघर्षमा जान ढिलाइ गरेकोमा नेतृत्वको आलोचना गरेका थिए । ‘सरकारको कदमविरुद्ध तत्काल पार्टीले विरोधका कार्यक्रम ल्याउनुपर्छ,’ नेता सिंहले भने, ‘असंवैधानिक रूपमा संसद् विघटन भएकाले पार्टीले आन्दोलनमा जान ढिलाइ गर्नुहुन्न ।’
सिंहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाँदै गर्दा पार्टी महाधिवेशन पनि चाँडो हुनुपर्ने माग गरे । उनले जनताले पार्टीको नेतृत्व बदल्न पनि सुझाव दिएको धारणा राख्नेबित्तिकै सभापति शेरबहादुर देउवा आक्रोशित भएका थिए । नेता सिंह र सभापति देउवाबीच केहीबेर सवालजवाफ चलेको थियो ।
उपसभापति विमलेन्द्र निधिले प्रतिनिधि सभाको अपरिहार्यतामा जोड दिएका थिए । तर निधिले सडक संघर्षबाट प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना भने न्यून रहेको धारणा व्यक्त गरेका थिए । करीब सवा घण्टा बोलेका निधिले ३ विकल्प सुझाएका थिए ।
‘कुनै पनि हालतमा संसद् चाहिन्छ । संसद् भएन भने मुलुकमा लोकतन्त्र रहन सक्दैन,’ उनले भने, ‘यसका लागि सडक आन्दोलनबाट संसद्को पुनःस्थापना, दोस्रो निर्वाचनबाट संसद् र तेस्रो सर्वाेच्च अदालतको फैसला ।’
उनले २०६२/६३ सालको जनआन्दोलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश फरक रहेको उल्लेख गर्दै अहिले सडकबाट पुनःस्थापनाको सम्भावनालाई इन्कार गरे । उनले भने, ‘अब सर्वाेच्च अदालतको फैसला कुरौं । अदालतले सरकारको कदमलाई बदर गरे स्वागत गरौं । नत्र निर्वाचनको सुनिश्चितता गरौं ।’
पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सरकारको कदमविरुद्ध उभिनुपर्ने समय आएको बताए । ‘लोकतन्त्र र संविधान रक्षाका लागि आन्दोलनमा जानुपर्छ र आन्दोलनलाई चुनावको तयारीको रूपमा अगाडि बढाउनुपर्छ,’ केसीले भने । उनले आन्दोलनसँगै निर्वाचनको तयारीमा पनि सँगै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले पछिल्लो घटनाक्रमले पार्टीको महाधिवेशन प्रभावित हुन सक्ने आशंका गरे । उनले अघिल्लो महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट फागुनमै विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरे ।
‘एकातिर सरकारविरुद्ध संघर्षमा जानु छ भने अर्काेतिर पार्टीको महाधिवेशन गर्नुपर्ने पनि बाध्यता हामीलाई छ,’ उनले भने, ‘यसका लागि १३ औं महाधिवेशनकै प्रतिनिधिबाटै महाधिवेशन गराऔं । त्यो तदर्थ अधिवेशन हुन्छ । यसको १/२ वर्षपछि नियमित महाधिवेशन गरौं ।’
केसीले विशेष महाधिवेशन प्रस्ताव गर्दा देउवा झोक्किएका थिए । ‘फागुनमै महाधिवेशन हुन्छ, फागुनमै हुन्छ,’ देउवाले भने ।
बैठकमा ३ दिनसम्म जम्मा ११ जना केन्द्रीय सदस्यले बोलेका छन् । पहिलो दिन वरिष्ठ नेता पौडेलसहित ४ नेताले सरकारको कदम र कांग्रेसको आगामी रणनीतिबारे धारणा राखेका थिए । दोस्रो दिन बुधवार पनि ४ जनाले मात्रै बोले । बिहीवार जम्मा ३ नेताले मात्रै धारणा राखेको कांग्रेसले जनाएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा बोल्न नाम टिपाएका नेताको संख्या २५ भन्दा बढी छ । केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सुरूकै दिन नाम टिपाए पनि अझै आफ्नो बोल्ने पालो नआएको बताइन् ।
‘मैले त सुरूकै दिनमा नाम टिपाएको हो । ३ दिन भइसक्यो बोल्न पाएको छैन,’ संग्रौलाले भनिन्, ‘दिनमा ३–४ जना नेता मात्रै बोलिरहेका छन् । यही हिसाबले बैठक अझै लम्बिन सक्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।