संसद्मा होस् या पार्टीमै पनि कडा प्रतिपक्षीको रुपमा उत्रिने नेता हुन् गगनकुमार थापा । पूर्वमन्त्रीसमेत रहेका सांसद थापा अहिले कोरोना भाइरसको संक्रमणका कारण होम-आइसोलेसनमा छन् ।
नेपालमा कोरोना भाइरसको एउटा पनि केस नहुँदैदेखि सरकारलाई तयारी गर्नुपर्छ । कुनै दिन नेपालमा आइहाल्छ भनेर झकझकाइ रहने थापाको कुरा झण्डै दुईतिहाइ नजिकको बहुमत भएको सरकारले सुनेन । थापाको मात्रै होइन अन्य कसैको पनि सुझाव सरकारले सुनेन ।
त्यसको परिणामस्वरुप अहिले देशमा कोरोना भाइरसको संक्रमण करिब नियन्त्रण बाहिर जस्तै छ । अझै पनि सरकारले कोरोना नियन्त्रण गर्न के गर्नुपर्छ ? कसको कारणले यस्तो अवस्था आायो ? कांग्रेसमा पनि महाधिवेशन लागेको छ । आइसोलेसनबाटै कसरी पार्टीको आन्तरिक राजनीतिलाई नियाली रहनु भएको छ भनेर थापासँग मिडिया डबलीले गरेको संक्षिप्त कुराकानी ।
तपाईं कोरोना भाइरस संक्रमित हुनभयो । पछि तपाईंका परिवारका सदस्यलाई पनि संक्रमण देखियो । कसरी सतर्कता अपनाइरहनु भएको छ ?
सबै संक्रमितहरु एकअर्कासँग भेट हुन मिल्ने भइहाल्यो । मेरो एउटा छोरीलाई चाहीँ अलग्गै राखेका छौं । उसलाई कोरोना पोजेटिभ छैन । बुबाआमा सबैको हेरविचार गर्ने, दिनमा तीन चारपटक अक्सिजन नाप्ने, ज्वोरो नाप्ने रेकर्ड राख्ने, कुनै समस्या भइहाल्छ कि भनेर खास ध्यान त्यसमा दिइरहेको छु ।
सरकारलाई कोरोना नियन्त्रणका लागि काम किन नगरेको भनेर प्रश्न गर्ने र काम यसरी गर्नुपर्छ भनेर सुझाव पनि दिइरहने तपाईं आज आफैँ संक्रमित हुनुहुन्छ । तपाईंले दिएका सल्लाह सुझावहरु सरकारले किन टेरेन ?
यस केही कारण छन् । अहिले स्वास्थ्यको मात्रै अवस्था होइन । नियमित अवस्था त छन् हुँदै होइन । यस्तो लडाईंको मुख्य नेतृत्व हाम्रो प्रधानसेनापति भनेको हाम्रो प्रधानमन्त्री हो । यो लडाईंमा हाम्रो दुरावस्था हुनुमा प्रधानमन्त्रीको गैरजिम्मेवार पन नै मुख्य हो । कुनै पनि लडाईं जित्नका लागि रणनीति हुनुपर्छ । उक्त रणनीति अनुसार योजना बन्नुपर्छ, योजना अनुसार सबैलाई सहभागी गराउन सक्नुपर्छ ।
प्रधानमन्त्रीसँग न रणनीति, योजना थियो न अहिले छ । न यो लडाईंमा सबैलाई जुध्न तयार पार्न सक्नु भयो । यसको बारेमा उहाँको बुझाई नै गलत छ सुरु देखि नै । अहिले पनि । सिंगो सरकार सुरुदेखि अहिलेसम्म अलमलिएको छ ।
मैले भनेको मात्रै होइन । विज्ञ, अन्य राजनीतिज्ञ, नागरिक समाजले भनेको कुरा हाम्रो प्रधानमन्त्रीले सुझाव हुन् भनेर लिनु भएन, हेर्दै हेर्नु भएन । सुझावप्रति सधैं वक्रदृष्टि लगाउनु भयो सुझाव दिँदा पनि आलोचना गरेको ठान्नु भयो ।
कोरोना समुदायमा फैलिएको छ । स्थिति नियन्त्रण बाहिर जानै लाग्यो भनेर जनस्वास्थ्यविद्हरुले भनिरहेका छन् । तत्काल कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारको तर्फबाट गर्नुपर्ने काम पो केही छन् कि ?
अहिले नै पनि हेर्दाखेरी आजको मात्रै होइन कम्तिमा पनि एक महिनासम्म के हुन्छ भनेर अध्ययन, अनुसन्धान गरेर हेर्नुपर्यो । यो सरकारले फागुनमा चैतको हेरेन, चैतमा वैशाखको हेरेन । अहिले पनि यो क्रम जारी नै छ । एक महिनासम्मको लागि हेरियो भने पूर्व तयारीको लागि समय पनि पुग्छ । स्थिति नियन्त्रणमा लिन सकिन्छ । आजलाई व्यवस्थापन गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने रणनीति तयार पार्नुपर्छ । विभिन्न ठाउँमा अहिलेकै जसरी कोरोना फैलिरहे भोलि के होला भनेर एकपटक त छलफल गर्न पर्यो । यहाँ त भन्यो भने उल्टै नकरात्मक सोच्ने परिपाटी भयो ।
समस्याको समाधान खोज्दा खण्डखण्डमा होइन । कहिले आइसोलेनको कुरा गर्छौं, कहिले अस्पतालको, कहिले के । सिटमा के हो । सिस्टम कस्तो बनाउने भनेर हामीले छलफल नै गरेनौं । सिस्टमको माध्यमबाट सरकारले हेरेको भएजस्तै कोठाभाडामा बस्ने मान्छेलाई संक्रमित भएपछि कहाँ लैजाने, आइसोलेसनमा बसेको मान्छेलाई अक्सिजन कम भयो भने के गर्ने केही सिस्टम छैन भद्रगोल छ । अहिले यतिबेला सोच्ने भनेको त धेरैभन्दा धेरै मानिसलाई संक्रमण मुक्त गरेर अस्पताल खाली गराउने हो नि त । अस्पतालमा कम मान्छे लैजान के गर्नुपर्छ होला, नगरपालिकाले के गर्ने, वडाले के गर्ने, केन्द्रीय सरकारले, प्रदेश सरकारले के गर्ने भन्ने त आउनुपर्या नी । अस्पताल र स्वास्थ्य मन्त्रालय के गर्ने भनेर सोच्नुपर्ने हो, यो पटक्कै सरकारले सोचन ।
कोरोनाकै कारणले थलिएका स्वास्थ्यसँगै अर्थतन्त्र चलायमान बनाउने क्षेत्रलाई उकास्न अहिले देखि नै केही गर्न सकिँदैन ?
यो कोरोनाको कारणले परेको प्रभाव स्वास्थ्यसँगै अरु ठूलो क्षेत्रमा छ । पाँच महिना लकडाउन गर्दा सरकारले केही तयारी गरेन । सरकारले राहत दिन सकेन । थलिएका क्षेत्रलाई पुन: उकास्न कुनै कार्यक्रम ल्याएन । त्यसको परिणाम के आयो भने मान्छेहरु सरकारले भनेको कुनै पनि निर्णयहरु नमान्ने अवस्थामा पुगे । चाडबाडको बेला छ । मानिसहरु यो बेलामा बढी सक्रिय हुने अवस्था छ । यस्तो बेलामा अन्य देशले अपनाएको शैली हामीले पनि अपनाउन सकिन्छ । खानै नपाएकाहरुलाई पैसा नै ट्रान्सफर गरेर भएपनि भोको नराख्ने त गर्न पर्या नि ।
हाम्रा साना र मझौला व्यापारका क्षेत्रलाई तंग्राउन राहतको प्याकेज ल्याउन सके भोली अर्थतन्त्रको चक्र घुम्छ । कोरोना भन्दा पहिले रोजगारीमा रहेका लाखौं मान्छे बेरोजगार भए ति मान्छेहरुलाई रोजगारीमा टिक्नसक्ने गरी मद्दत त सरकारले गर्न पर्यो ।
अन्तमा आइसोलेनमा रहँदा पार्टीको राजनीतिलाई कसरी हेरिरहनु भएको छ ? महाधिवेशनमा तपाइँलाई कुन उम्मेद्वारको रुपमा देख्न सकिन्छ ?
महाधिवेशन ढिलोछिटो भइ नै हाल्छ । केन्द्रीय समितिको बैठक बोलाइएको थियो । त्यसले धेरै कुराहरु मत्थर पार्ने अनुमान थियो । तर, मलगायत केही साथीहरुलाई कोरोना पोजेटिभ देखियो बैठक सरेको छ । अर्को कुरा महाधिवेशनमा के उठ्ने भन्ने कुरा सबै नेता कार्यकर्तासँग छलफल, सल्लाह सुझाव ग्रहण गर्दै बन्ने योजना अनुसार तय हुन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।