काठमाडौं – कालिकोट जिल्लाको पलाता गाउँपालिकामा पूर्व माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले आपसमै कुटाकुट गरेका छन् ।
कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडाध्यक्षको कुटाइबाट घाइते भएका छन् । पलाता गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटपिट गरेर घाइते बनाएका छन् ।
गाउँपालिका अध्यक्ष बम र वडाध्यक्ष भण्डारी दुवै स्थानीय तह निर्वाचनमा पूर्व माओवादीबाट निर्वाचित भएका हुन् । पलाँता गाउँपालिकाको ग्रामीण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता लोकनाथ तिमिल्सेनाले बताएका छन् ।
शनिबार बिहान ११ बजेतिर उपभोक्ता गठन सम्बन्धी गाउँमा छलफल भइरहेको बेला वडाध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण गरेको प्रहरीले जनाएको छ । ‘वडाध्यक्ष लगायतको टोलीले गरेको आक्रमणमा परी गाउँपालिका अध्यक्ष बम, उनकी श्रीमती र भतिजा सामान्य घाइते भएका छन्,’ उनले भने ।
घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता तिमिल्सेनाले बताए ।
जनताको विकास निर्माणमा केन्द्रित हुनुपर्ने कम्युनिस्ट जनप्रतिनिधि आपसमा लडाइँ गर्नमै लागेका छन् । योजनामा कमिसनको कुरा नमिल्दा विवाद उत्पन्न भएर कुटाकुटको अवस्था आएको स्थानीयको आरोप रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।