काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल थालेका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचार तथा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छलफल सुरु गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्। छलफलमा बाढीपछि सुरक्षा निकायले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्य, प्रभावित क्षेत्रको अवस्था तथा आगामी दिनमा गर्नुपर्ने कामबारे प्रधानसेनापति सिग्देलले प्रधानमन्त्रीलाई जानकारी गराउने बताइएको छ।
प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा जारी समग्र खोज तथा उद्धार, राहत सामग्री वितरण, घाइतेको उपचार, प्रभावित नागरिकको सुरक्षा तथा सुरक्षा निकायको परिचालनलगायत विषयमा प्रधानमन्त्रीले विस्तृत ब्रिफिङ लिनेछन्।
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतलाई प्रभावकारी बनाउनुका साथै आगामी दिनमा सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायले गर्नुपर्ने कामबारे समेत प्रधानमन्त्री शाहले आवश्यक निर्देशन दिने बताइएको छ।
प्रधानमन्त्रीको सुरक्षा प्रमुखहरूसँगको छलफललाई विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका कामलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण मानिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।