काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएपछि उनको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी कसले पाउने भन्ने चासो बढेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् । भ्रमण तथा द्विपक्षीय भेटघाट सकेर उनी भोलिपल्टै स्वदेश फर्किनेछन् । यस अवधिमा प्रधानमन्त्री करिब २८ घण्टा नेपालबाहिर रहनेछन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन् । यसअघि भ्रमण टोलीमा रहने चर्चा गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ भने टोलीमा छैनन् ।
मन्त्रिपरिषद्को वरीयताअनुसार प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल छन् । त्यसपछि ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङको वरीयता रहेको छ । यस्तो अवस्थामा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी कसलाई दिने भन्ने विषय प्रधानमन्त्रीको सिफारिसमा निर्भर हुनेछ ।
यसअघि गत असोज ६ गते प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन विदेश जाँदा अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । यसले पनि यसपटक वाग्लेले नै उक्त जिम्मेवारी पाउने सम्भावनालाई बल दिएको छ ।
के छ कानुनी व्यवस्था ?
नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम १९(३) मा प्रधानमन्त्री अनुपस्थित हुँदा उनले तोकेको उपप्रधानमन्त्रीले प्रधानमन्त्रीका काम गर्ने व्यवस्था छ । उपप्रधानमन्त्री नभएको वा अनुपस्थित रहेको अवस्थामा प्रधानमन्त्रीले तोकेको वरिष्ठ मन्त्रीले त्यस्तो जिम्मेवारी सम्हाल्ने प्रावधान छ ।
संविधानको धारा ७७ ले प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्थाबारे व्यवस्था गरेको छ । प्रधानमन्त्रीको पद रिक्त भएमा नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म विद्यमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने उल्लेख छ । प्रधानमन्त्रीको मृत्यु भएमा नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म वरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीका रूपमा कार्य सञ्चालन गर्ने व्यवस्था पनि संविधानमा छ ।
यद्यपि, प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा संविधानमा छुट्टै स्पष्ट व्यवस्था छैन । त्यसैले यस अवस्थामा कार्यवाहकको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिस र प्रचलित कानुनी व्यवस्थाअनुसार तय हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।