काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको एक वर्षमा राज्यकोषको दुई अर्ब रुपैयाँ विदेश भ्रमणमै स्वाहा भएको छ ।
प्रधानमन्त्री, मन्त्री र सरकारका उच्चपदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक वर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ ।
विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० मा आन्तरिक र बाह्य गरी भ्रमण खर्च बापत दुई अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको भन्दा करिब १७ प्रतिशत बढी हो । प्रधानमन्त्रीका केही विदेश भ्रमणको खर्च यसमा जोडिएको छैन । प्रधानमन्त्रीले एक बर्षमा ६ वटा बढी देशको भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डको चीन र अमेरिका भ्रमणमा मात्रै चार करोड ७४ लाख रुपैयाँ खर्च भएको थियो ।
उक्त भ्रमणमा प्रतिनिधिमण्डलको दैनिक खर्च ३४ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा भ्रमण शीर्षकमा बजेटले एक अर्ब ५९ करोड मात्रै छुट्याए पनि सरकारले योभन्दा एक अर्ब ११ करोड रुपैयाँ बढी खर्च गरेको थियो ।
सरकारले मितव्ययिताको नीति लागू गर्ने घोषणा गरे पनि फजुल खर्च कटौती गर्न नसकेको महालेखाको तथ्यांक छ । आर्थिक वर्ष २०७८–७९ मा भ्रमण खर्च बापत दुई अर्ब ३० करोड रुपैयाँ खर्च भएको महालेखाको तथ्यांक छ ।
त्यसभन्दा पनि अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा भ्रमण खर्च बापत एक अर्ब आठ करोड रुपैयाँ मात्रै खर्च भएको तथ्यांक छ । विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री र मन्त्रीले दैनिक २५०, विशिष्ट तहका कर्मचारी (सचिव) ले २२५ र सहसचिवले १७५ अमेरिकी डलर भ्रमणभत्ता पाउँछन् ।
होटल खर्चबापतको अलग्गै रकम पाउँछन् । युरोप, अमेरिका, क्यानडा, कोरिया, जापानलगायतका देशको भ्रमण गर्दा ३३ प्रतिशत थप भत्ता पाउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।