काठमाडौं - एमालेको मध्यपहाडी संकल्प यात्रा आज पर्वत हुँदै कास्की पुग्दैछ ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म एक हजार आठ सय किलोमिटर पदयात्रा गर्ने एमालेको तयारी छ ।
पदयात्रा पुस १ गते पाँचथर पुग्ने बताइएको छ । तर अहिले एमाले अध्यक्ष केपी ओलीलाई उनकै गृह प्रदेश कोशीमा निषेध गर्ने हल्ला चलेको छ ।
ओलीलाई आफ्नो प्रदेशमा निषेध गर्न खोजिएको भन्दै एमालेले आपत्ति प्रकट गरेको छ ।
बुधबारको कोशी प्रदेशसभा बैठकमा एमाले सांसद तिलकुमार मेन्याङ्बोले मुलुकका पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गरिनेछ भन्ने चर्चा दुःखद् र संविधानविरोधी कदम भएको बताए ।
कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै आन्दोलनरत संघसंस्थाले ओलीलाई प्रवेश निषेध गर्ने चर्चा थालिएपछि सांसदले आपत्ति जनाएका छन् ।
‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिनेछ भन्ने चर्चा दुःखद छ । यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु,’ मेन्याङ्बोले भने ।
कोशी नाम खारेजीको माग गर्दै प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संंघर्ष समितिले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशका नेताहरूलाई विभिन्न ठाउँमा प्रवेश निषेध गर्ने चेतावनी दिने गरेको छ ।
ओली नेतृत्वमा एक सय पचासजनाको डफ्फाले पदयात्रा गरिरहेको छ । खाने र बस्ने व्यवस्था स्थानीय कमिटीले मिलाएका छन् ।
अध्यक्ष ओली आफैँले पाँचवटा गाडीको प्रबन्ध गरेका छन् । अरुले आफैँआफैँ गाडी मिलाएका छन् ।
एमालेको उक्त यात्रा राजनीतिक नै हो, तर ठाउँ–ठाउँमा मठमन्दिर घुम्दै टोली अगाडि बढिरहेको छ ।
राजनीतिक दलले गर्ने त्यस्तो यात्रामा निश्चित उद्देश्य र सन्देश हुन्छन्, तर एमालेले त्यस्तो कुनै विचार दिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।