काठमाडौं - गत सोमबार एमाले बागमती प्रदेश अधिवेशनको उदघाटन गर्दै अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।
उनले गुटगत रूपमा उम्मेदवारी दर्ता भए खारेज गरिदिने चेतावनी पनि दिएका थिए । तर ओलीको निर्देशनलाई लत्याउँदै बागमती प्रदेशको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया अघि बढेको छ ।
यसले एमालेमा अब ओलीले भनेको नमान्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसअघि लुम्बिनी प्रदेशको अधिवेशनमा पनि ओलीको निर्देशनको अवज्ञा गरिएको थियो ।
उनले त्यहाँ पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं हिँडेका थिए । तर त्यस्तो भएन । लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रतिष्ठाको विषय बनाएपछि चुनावबाटै नेतृत्व चयन गरियो ।
एमाले उपाध्यक्ष पौडेल निकट हरि रिजाल अध्यक्षमा चुनिए । ठ्याक्कै लुम्बिनीकै जस्तो स्थिति बागमतीमा पनि देखिएको छ । बागमतीमा एमाले नेता गोकुल बासकोटा र महेश बस्नेत समूहबीच प्रतिस्पर्धा भइरहेको छ ।
बासकोटा मकवानपुरका कृष्णप्रसाद दाहाल र बस्नेत रामेछापका कैशाल ढुंगेलको पक्षमा उभिएका छन् । अध्यक्षमा काठमाडौंका सानुकुमार श्रेष्ठ, नुवाकोटका केशव पाण्डे र केशरबहादुर बुढाथोकी पनि प्रतिस्पर्धामा छन् ।
तर मुख्य प्रतिस्पर्धा दाहाल र ढुंगेलबीच हुने अनुमान गरिएको छ । एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अनिश्चित बनेको छ ।
एमालेले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार बिहीबार बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न नसके पछि मतदान कार्यक्रम अनिश्चित बनेको हो ।
यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए । उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझ ४ बजेदेखि मतदान सुरु हुनसक्ने जनाइएको छ ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो । प्रदेश अधिवेशनको मतदान विद्युतीय मेसिनमार्फत हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।