काठमाडौं- एमालेको दशौं महाधिवेशनले प्यानल बनाएर नेतृत्व चयन नगर्ने निर्णय गरेको थियो । तर एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयन चुनावमार्फत नै भएको छ ।
अर्थात् एमालेमा दुई वर्षपछि कोर्ष करेक्सन भएको छ । एमाले लुम्बिनी प्रदेशमा पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलभन्दा उपाध्यक्ष विष्णु पौडेल बलियो देखिएका छन् ।
एउटा उपसचिवबाहेक अन्य पदमा पौडेल समूहका अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेलको प्यानलै निर्वाचित भएको छ । बुधबार बिहान सार्वजनिक परिणामअनुसार पौडेल समूहका कँडेलले चार सय ७९ मत र महासचिव पोखरेल समूहका हरिप्रसाद रिजालले चार सय ७७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा कँडेल समूहकै भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रिजाल समूहका पूर्ण बुढामगर र महिला उपसचिवमा कँडेल समूहकी लीला रानामगर निर्वाचित भएकी छन्।
सचिवमा यसअघि नै कँडेल समूहका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् ।
घिमिरे पनि कँडेल प्यानलका हुन् । एक हजार पाँच मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । पाँच पदाधिकारी र १५ जना खुल्ला सदस्यसहित प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
अध्यक्ष केपी ओलीले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । उनले रिजाललाई अध्यक्ष बनाउन दबाब पनि दिएका थिए । तर पौडेल पक्षले अस्वीकार गरेर चुनावमा जाने अडान राखेको थियो ।
पार्टीका उपाध्यक्ष र महासचिवको प्रतिष्ठा बनेको अधिवेशनमा विष्णु पौडेलले बाजी मारेका छन् । अब देशभरि नै एमालेमा दुई समूह हुने संकेत देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।