काठमाडौँ - गत वर्षको भदौदेखि बलात्कारको आरोप खेपिरहेका राष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछाने पेशी सरेसँगै एसिया कप क्रिकेट खेल्ने पाकिस्तान गएका छन् ।
उनको हिजो काठमाडौँ जिल्ला अदालतमा पेशी रहेको थियो । तर न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएसँगै मुद्दा लम्बिएको छ ।
अर्को पेशी भदौ २१ गतेलाई तोकिएको छ । सोसँगै बुधबारदेखि पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा हुने एसिया कप क्रिकेट खेल्न सन्दीप आज पाकिस्तान गएका हुन् ।
आज बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ पुगेका थिए ।
सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एसिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए । उनले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको तर्क गरे । तर सदस्यसचिव घिसिङले सन्दीपको बलात्कार मुद्धाबारे भने केही भनेनन् । सन्दीपले भने टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए ।
समूह ए मा रहेको नेपालले बुधबार पाकिस्तानसँग पाकिस्तानमा र आउँदो सोमबार भारतसँग श्रीलंकामा खेल्दैछ । नेपालले पहिलो पटक एसिया कप खेल्दै गर्दा उत्साह पालेको छ ।
पाकिस्तान अहिले विश्व नम्बर एक टिम हो भने भारत विश्व नम्बर तीन टिम हो । नेपालले दुवै देशलाई हराउने भन्दा पनि गतिलो अनुभव बटुलेर आउने अपेक्षा गरिएको छ । दोस्रो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।