काठमाडौं - एमालेमा अब अध्यक्षबाहेक अरुको फोटो सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ ।
एमालेमा अहिले अध्यक्ष केपी ओली छन् । अब उनीबाहेक अरुको तस्बिर एमालेको कार्यक्रममा प्रयोगमा ल्याइने छैन ।
एमालेले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर सार्वजनिक गर्दै आएको छ । एमाले उपमहासचिव विष्णु रिमालले साउन २९ गते बसेको बैठकले यस्तो निर्णय गरेको र सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धिनिर्णय एमालेले नियमित परिपत्रमार्फत् पार्टी पंक्तिमा प्रेषित गर्ने जानकारी दिएका छन् ।
‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने’, सचिवालयको निर्णय भन्दै रिमालले फेसबुकमा लेखेका छन् ।
मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शकदीर्घामै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने र कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय पनि एमालेले गरेको हो ।
बुधबार एमाले अध्यक्ष केपी ओलीले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद नगर्न सुझाव आएको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।
एमालेले बनायो सार्वजनिक कार्यक्रममा पाँचबुँदे मापदण्ड
१. कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने ।
२. मञ्चको प्रयोग वक्ताले मात्र गर्ने ।
३. अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने ।
४. कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उदघोषण गरिरहेन परम्परा अन्त्य गर्ने ।
५. कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।