काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म भएका सबै ठूला भ्रष्टाचार काण्डका फाइल खोल्नुपर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा सोमबार उनले आफ्नो अनुकूलतामा भ्रष्टाचार काण्डका फाइल खोल्ने र बन्द गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
थापाले सुन तस्करी प्रकरणमा जोडिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल छानबिन हुनुपर्ने बताए। उनले महराबारे पार्टीले नभई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरी स्पष्ट पार्नुपर्ने धारणा राखे ।
आइतबार माओवादीको पदाधिकारी बैठकमा सुन तस्करीको प्रकरणबारे महरालाई स्पष्ट पार्नुपर्ने भनिएको थियो।
‘सुन तस्करी प्रकरणमा नाम जोडिएका सबै अनुसन्धानको दायरामा आउनुपर्छ। माओवादीको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महरालाई यसबारे स्पष्ट पार्न भनेछ,’ थापाले भने, ‘यो प्रकरणमा स्पष्ट त अनुसन्धानपछि सीआईबीले पारिहाल्छ नि, पार्टीले गर्ने हो र ?’ ‘केही दिन अगाडि डा. बाबुराम भट्टराईले लडाकु शिविर घोटालाको छानबिन गरौं भन्नुभयो ।ललिता निवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो। हिजोआज शीर्ष नेताहरुको यस्तै भनाइ सुनिन्छ, कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? कुनै दलको कुनै नेता अनुसन्धानको क्रममा पक्राउ पर्यो भने, ए हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खै ? यस्तै यस्तै सुनिन्छ,’ थापाले भने, ‘यसरी आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नुपर्छ। यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं। अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस, नाता होस, सांसद होस्, मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।