काठमाडौं - पछिल्लो समय माओवादीले एकलौटी रूपमा सरकार सञ्चालन गर्न थालेको भन्दै सहयात्री दल नेपाली कांग्रेस असन्तुष्ट हुन थालेको छ ।
प्रधानमन्त्री र गृहमन्त्री लिएर सहयात्री दलहरूसँग छलफल नै नगरी हरेक निर्णय एकलौटी गर्न थालेपछि कांग्रेसमा सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब बढ्दै गएको छ ।
कांग्रेसको जारी संसदीय दलको बैठकमा आइतबार सांसद प्रदीप पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेपछि यसले तरंग सिर्जना गरेको छ ।
पौडेलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्नुले एमालेको मागलाई बलियो समर्थन भएको छ । पौडेल मात्र होइन, अधिकांश कांग्रेसका युवा सांसद अहिलेको सरकारसँग सन्तुष्ट छैनन् ।
प्रचण्ड र नारायणकाजी श्रेष्ठको कार्यशैलीप्रति कसैलाई चित्त बुझेको छैन । एकपछि अर्को कांग्रेस नेतालाई विभिन्न आरोप लगाएर फसाउने र कांग्रेसलाई भ्रष्ट पार्टी भनेर डाम्न खोजेको संकेत देखिएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको भनाइ छ । त्यसैले यो सरकार धेरै समयसम्म टिक्छ भन्नेमा आफूलाई शंका लागेको उनको भनाइ छ ।
काग्रेस नेता एवं सांसद सञ्जयकुमार गौतमले मुलुकमा आफ्नो पार्टीको सरकार छ भन्ने अनुभूति गर्न नसकेको बताएका छन् । माओवादीको गतिविधिले पनि यस्तो अवस्था आइपुगेको उनको भनाइ छ ।
‘तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने कुराभन्दा पनि हामीले गठबन्धन टिकोस् भन्ने नै चाहेका छौं । तर उसका गतिविधिले हामीलाई झस्काएको छ । संसदीय दलको जारी बैठकमा सरकारमा भएको अनुभूति भएन भन्ने आवाज सांसद साथीहरुले उठाइरहनुभएको छ,’ सोमबार नेपाली रेडियो नेटवर्कको कार्यक्रममा उनले भने ।
सांसद गौतमले माओवादीले एकलौटी सरकार जसरी व्यवहार गरिरहेको आरोप पनि लगाए । ‘सरकारका काम कारबाही निष्पक्ष भएनन् । हरेक सांसदलाई गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने सार्वभौम अधिकार छ । संसद् चलिरहेका बेला राजीनामा मागेकै भरमा छापामार शैलीमा समात्ने, मिसबिहेभ गर्ने ? न सभामुखलाई थाहा छ, न प्रमुख सचेतकलाई थाहा छ ।सांसद सुनील शर्माको अभिव्यक्तिमा सबैभन्दा आपत्ति त कांग्रेसलाई पो हुनुपर्ने हो । यो माओवादीको एकलौटी सरकार हो र ? हामी माओवादीको सती जान सक्दैनौं,’ उनले भने ।
उनले सरकारले कांग्रेसप्रति पूर्वाग्रही भएको आरोप पनि लगाए । संसद्को अवरोध हटाउन उच्चस्तरीय छानबिन समिति बनाएर जनतालाई सत्य तथ्य जानकारी गराउनुपर्ने पनि गौतमले औंल्याए ।
कांग्रेस सांसद सुनिल शर्माले त प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै पहिलो चरणमा कांग्रेसबाट शेरबहादुर देउवा र दोस्रो कार्यकालमा एमालेबाट केपी ओली प्रधानमन्त्री बन्नुपर्ने भनेर कांग्रेस–एमालेको समीकरण बन्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् । स्रोतका अनुसार अहिले एमाले र कांग्रेसका नेताहरूबीच सघन वार्ता भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।