काठमाडौं - पार्टी अध्यक्षको निजी सचिवालय वा प्रेस सल्लाहकार गतिलो भएन भने सबैतिर कस्तो भ्रम पर्दोरहेछ भन्ने कुरा एमाले अध्यक्ष केपी ओलीलाई हेरे पुग्छ ।
ओली मंगलबार राति कम्बोडिया प्रस्थान गरे । उनी श्रीमीत राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलाई लिएर कम्बोडिया प्रस्थान गरेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङले बिदाइ गरे । आफू विदेश भ्रमणमा गएपछि पार्टी अध्यक्षहरूले कार्यबाहक दिने प्रचलन छ ।
सोहीअनुसार ओलीको निजी सचिवालयको फेसबुक पेज बालकोटले एउटा सूचना निकाल्यो । जसमा लेखिएको थियो, ‘श्रद्धेय पार्टी अध्यक्ष कम्बोडिया प्रस्थान गर्नुभएको छ। त्यसअघि उहाँले पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिनुभएको छ।’
यो सूचनाले एमालेमा दुईजना कार्यबाहक अध्यक्ष र दुईजना संसदीय दलका नेता भन्ने बुझाउँछ । सोहीअनुसार विभिन्न मिडियाले एमालेले पोखरेल र नेम्वाङलाई दिए कार्यबाहक अध्यक्षको जिम्मेवारी भनेर समाचार आयो ।
त्यसपछि लगत्तै ओलीको निजी सचिवालयले अर्को सूचना निकाल्यो । त्यसमा ‘श्रद्धेय पार्टी अध्यक्ष कम्बोडिया प्रस्थान गर्नुभएको छ। त्यसअघि उहाँले पार्टीको कार्यवहाक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी क्रमशः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिनुभएको छ’ भनेर लेखियो ।
अहिले यो विषयले एमालेमा हलचल मच्चाएको छ । सही सूचना दिन नसकेको भन्दै ओलीको निजी सचिवालयमा बस्नेलाई कारबाहीको माग गर्नुपर्ने आवाज उठेको छ ।
ओलीको निजी सचिवालयमा रामशरण बजगार्ई, चेतन अधिकारीलगायत छन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेको ओलीको सचिवालयले जनाएको छ । ओली साउन ८ गते स्वदेश फर्कने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।