काठमाडौं - एमालेकै कारण अनुचित लेनदेन (मिटरब्याजसम्बन्धी) विधेयक प्रतिनिधिसभामा ल्याउनबाट रोकिँदै आएको छ ।
एक साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद् अवरोध गरेकाले मिटरब्याजसम्बन्धी विधेयक संसदमा प्रस्तुत हुन सकेन ।
सरकारले शुक्रबारको बैठकमा मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा राखेको थियो । तर प्रमुख प्रतिपक्षी एमालेका कारण मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइएको छ।
शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने, ७९ कानुन संशोधन गर्न ल्याइएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने मात्र उल्लेख छ।
तर, मिटर व्याज सम्बन्धी व्यवस्था राख्नका लागि ल्याइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राखिएको छैन।
असार २० गते एमालेले सदन अवरुद्ध गरेको थियो, जसकारण सरकारले अध्यादेशमार्फत ल्याएको कानुन निष्क्रिय छ। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकलाई गत असार २०, २२ र २४ गते पारित गर्ने कार्यसूची राखिए पनि एमालेले संसद् अवरुद्ध गरेपछि रोकिएको हो।
एमालेका तराई केन्द्रीत केही धनाढ्य सांसदको लबिङका कारण यो विधेयक रोकिने देखिएको छ। एमालेका रघुवीर महासेठ, लीलानाथ श्रेष्ठलगायतका सांसदको दबाबका कारण एमालेले यो विधेयकलाई जस्ताको तस्तै पारित गर्न नदिने भएको स्रोतले जनाएको छ। प्रतिस्थापन विधेयक समितिमा लगेर सडाउने एमालेको रहेको बताइन्छ ।
‘समितिमा लगेपछि लगभग यो संसद्को कार्यकालसम्म विधेयक पारित गर्न कठिनाइ हुनसक्ने देखिन्छ। ‘अघिल्लो संसद्को कार्यकालमा समितिमा पुगेका धेरै विधेयक पारित हुन नसकेको केही विधेयक मात्र पारित हुन सकेको अवस्था छ। एमालेको छटपटी देख्दा यस विधेयकलाई सजिलै पारित गर्न सकिने अवस्था छैन,’ स्रोतले भन्यो ।
शुक्रबारको बैठकमा एमालेका अध्यक्ष केपी ओलीसँग सहमति गराउन सकेमात्र विधेयक पारित हुने एक नेताले बताए। राष्ट्रियसभामा उत्पत्ति भएका मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मा मिटरव्याजसम्बन्धी पीडितलाई सम्बोधन गर्ने व्यवस्था राखिएको छ।
मुलुकी अपराध संहिता २०७४ मा दफा २ सय ४९ ९क० थप गरी अनुचित लेनदेनको कार्यलाई कसुर कायम गर्ने र त्यस्तो कायम गरेमा सजाय दिने व्यवस्था गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।