काठमाडौं - शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएपछि बालवुाटारमा भुइँचालो गएको छ ।
गठबन्धन ठीक ढंगले नचले फेर्ने कुरा नौलो नभएको थापाको दाबी थियो । ‘गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ,’ कांग्रेस काठमाडौं ४ को कार्यक्रममा उनको भनाइ थियो ।
गगनको सो अभिव्यक्तिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै तनावमा परेका थिए । शनिबारै साँझ प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएका थिए ।
बालुवाटारमा भएको शीर्ष नेताको बैठकले बजेट पास हुने र सरकार हेरफेरको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ । सरकार परिवर्तनको हल्ला चलिरहेका वेला शीर्ष नेताहरूबीच छलफल भएको हो ।
स्वास्थ्य उपचारका लागि सिंगापुर गएका कांग्रेस सभापति देउवा शनिबार स्वदेश फर्केका हुन् । १२ दिनपछि स्वदेश फर्केलगत्तै देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
नयाँ सरकार बन्ने हल्ला र समीकरण पनि फेरिने चर्चापछि प्रधानमन्त्री प्रचण्डले देउवालाई बालुवाटार बोलाएका थिए । शुक्रबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति देउवालाई प्रयोग गरेर सरकार ढाल्न लागिपरेको बताएका थिए ।
‘एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरूले सुनिरहनुभएको छ । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् ।
उसलाई अघि बढाउन खोजिरहेका छन् । ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्,’ उनले भनेका थिए ।
तर बालुवाटारमा देउवाले त्यस्तो कुनै सम्भावना नरहेको मात्र होइन, बजेट पनि पास हुने बताएपछि प्रचण्ड ढुक्क भएका छन् । एकीकृत समाजवादी र जसपाले पार्टी निर्णय गरेरै बजेट पास हुन नदिने बताइसकेका छन् ।
प्रचण्ड, देउवा र नेपालबीच बजेटका असन्तुष्टि सम्बोधन गरेर पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा तीन शीर्ष नेताबीच बजेटमाथिका असन्तुष्टि सम्बोधन गरेर पारित गर्ने सहमति भएको हो ।
विनियोजन विधेयकमाथि उठेका प्रश्नको आइतबारबाट सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । प्रमुख प्रतिपक्षी दल एमाले कुनै पनि हालतमा बजेट पास गर्न नदिने रणनीतिमा लागेको छ ।
एकीकृत समाजवादी र जसपाले पार्टी निर्णय गरेरै बजेटमा संशोधन नभए पास नगर्ने चेतावनी दिइसकेका छन् । त्यसमाथि समीकरण फेरिने हल्लाले बालुवाटारमा ठूलो तरंग सिर्जना भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।