काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आफू बाँचुञ्जेल एमालेको नेतृत्व गर्ने संकेत गरेका छन् ।
पार्टीमा ७० वर्षीय उमेरहदको प्रावधान निलम्बन गरेर उनले अब आफू भइञ्जेलसम्म अरुलाई नेतृत्वमा ढिम्किनै नदिने भएका छन् ।
त्यसका लागि उनले विश्वका अरु देश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उदाहरण दिएका छन् । पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा ओलीले ७० वर्षे उमेरहद उपयोगी नभएकाले हटाउने निर्णय गरेको दाबी गरे ।
एमालेको केन्द्रीय सचिवालय बैठकले उमेरहद हटाउने निर्णय गरेर विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी गरेको छ । उमेरहद जारी भए ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापालगायतका नेताहरू आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउँदैनन् ।
ओलीले ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने र कतिपय अन्य पार्टीबाट आएकालाई जिम्मेवारी दिनुपर्ने भएकाले उमेरहद हटाउने निर्णय गरेको दाबी गरे ।
काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्न नहुने उनको भनाइ छ । ‘थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन् ।
कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एडजस्ट गर्न, जिम्मेवारी दिन पनि ७० वर्ष हटाइदिनुप¥यो ।
७० वर्ष कहीँ पनि छैन दुनियाँमा,’ उनले भने, ‘अमेरिकामा छ ? ८० वर्षको मान्छेले राष्ट्रपति चलाइरहेको छ । अनि शेरबहादुर देउवाजी ७७–७८ कति वर्ष हो ? चलाइराख्नु भएको छ । कतै पनि छैन ७० ।
हाम्रोमा हामीले राखेका थियौँ । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पा¥यो । त्यसकारण हटाउने भन्यौँ ।’ चीनलगायतका दुनियाँका सबै पार्टीहरूले ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको भन्दै ओलीले उमेरहद हटाउने एमालेको निर्णयको विरोध गर्नु आवश्यक नभएको जिकिर गरे ।
‘पार्टीका युवालाई ७० वर्ष कटेकाहरूसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ?’ उनले भने, ‘ए बाबा, चुनाव लड्नुस् न आउँदो महाधिवेशनमा । झन् राम्रो भयो नि त, ७० वर्ष पुगेकाले पनि पाउने भए त लड्न । किन आपत्ति जनाएको ? दौडिनुस् ।
७० वर्षे उमेरका सँग दौडनुस् ।’ ओलीको यो रणनीतिसँगै अब एमालेमा विष्णु पौडेल, शंकर पोखरेल, योगेश भट्टराईलगायतको पार्टी अध्यक्ष बन्ने सपनामा धक्का लाग्ने देखिएको छ ।
उनीहरू पनि अहिले ५७ देखि ६५ वर्ष उमेर पुगिसकेका छन् । नेपालमा नयाँ दल र युवा नेताहरूको उदयले एमालेमा अब पुस्तान्तरण आकाशको फल आँखा तरी मर भने जस्तै हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।