काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार सिन्धुलीमा आफूले चाहे अहिलेको सरकार ढाल्न सक्ने बताउनु र एमालेले नीति तथा कार्यक्रम पास हुन नदिने रणनीति अवलम्बन गर्नुबीच अनौठो संयोग मात्रै हो त भन्ने प्रश्न उठेको छ ।
सत्तारुढ गठबन्धनको एउटा प्रमुख हिस्सेदार पार्टीका अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदका आधारमा आफ्नो पार्टी अझै चौथो ठूलो दल रहेको भन्दै सरकार ढाल्ने र बनाउन सक्ने हैसियत राख्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई आफूलाई कमजोर नआँक्न चेतावनी दिएका हुन् ।
पछिल्लो समय प्रचण्डसँग माधव नेपाल असन्तुष्ट हुनु र नीति तथा कार्यक्रम पास हुन नदिई सरकार ढाल्ने रणनीतिमा एमाले अध्यक्ष केपी ओली अघि बढ्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
यदि संसदमा नीति तथा कार्यक्रम पास हुन नसकेमा प्रचण्ड नेतृत्वको सरकार स्वतः ढल्ने छ । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नदिने रणनीति अपनाएको छ ।
त्यसका लागि पार्टी अध्यक्ष केपी ओलीले आफ्ना सांसदहरुलाई संसदमा छलफलका क्रममा कडाइका साथ प्रस्तुत हुनसमेत निर्देशन दिइसकेका छन् ।
शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसलाई पास गर्न दिन नहुने बताएका छन् ।
उनले आफ्ना सांसदहरुलाई कडाइका साथ त्यसको विरोधमा उभिन निर्देशन दिएका हुन् । नीति तथा कार्यक्रममा समावेश विषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको भन्दै उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केही संकेतहरु पनि सन्तोषजनक नरहेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताए ।
‘नीति तथा कार्यक्रममा यस वर्ष हामी कसरी अगाडि बढ्छौँ, त त्यस सम्बन्धमा यसमा खासै योजना छैन । यो नीति वार्षिक कार्ययोजनामात्र हो’, उनले भने, ‘यसले देशको मार्गदर्शन गर्दैन ।
यो स्वीकार र समर्थन योग्य छैन । विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन ।’ प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक संसदबाट विश्वासको मत लिँदा १७४ सांसदको समर्थन पाएका थिए ।
जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिइसकेको छ । उसले समर्थन फिर्ता लिँदा १५५ बाँकी रहन्छ । सिके राउतको जनमत पार्टी पनि असन्तुष्ट छ ।
नागरिक उन्मुक्ति पार्टी पनि विरोधमा रहेको छ । यदि एकीकृत समाजवादीका १० सांसदले नीति तथा कार्यक्रमको पक्षमा मत नदिएमा प्रचण्ड नेतृत्वको सरकार सिधै ढल्ने अवस्था छ ।
त्यसैले अबको तीन दिन प्रचण्डका लागि ठूलै खड्को रहेको बताइन्छ । किनभने कांग्रेस र माओवादीका सांसदले मात्रै नीति तथा कार्यक्रम पास हुँदैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।