काठमाडौं - आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहले सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । समानुपातिकमा ४८ वटा दलले सूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगले मंगलबारदेखि बन्दसूचीमा बुझाएका नामबारे जाँचबुझ गर्ने सचिव गोकर्णमणि दवाडीको भनाइ छ । समानुपातिकमा बुझाएका नाम नै अन्तिम हो भन्न सकिन्न ।
हिजो समानुपातिक सूची बनाएर हालिएका नामहरू आउँदो असोज २२ गतेसम्म संशोधन गरिनेछ । यसपटक एमालेबाहेक अन्य ठूला दलले पहुँचवाला नेताहरूलाई नै समानुपातिकमा समेटेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपाले आफ्ना सिनियर नेतालाई नै समानुपातिकमा चान्स दिएको छ । सबैभन्दा धेरै कांग्रेसमा वृद्ध नेताहरूको हालीमुहाली देखिएको छ ।
प्रत्यक्षमा टिकट पाए पनि हार्ने भएपछि कांग्रेसले वृद्ध नेताहरूलाई समानुपातिकमा राखेको छ । जसले पार्टीभित्र व्यापक असन्तुष्टि उब्जिएको छ ।
कांग्रेसले सामाजिक, शैक्षिक,आर्थिक, राजनीतिक रूपमा पहुँचवाला आरजु राणालाई महिलाको सूचीमा अगाडिकै लाइनमा राखेको छ । यस्तै, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अम्बिका बस्नेत, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना जस्ता नेताहरूलाई पनि समानुपातिकमा राखेको छ ।
उनीहरूले प्रत्यक्षमा टिकट पाए पनि चुनाव जित्ने हैसियत राख्दैनथे । यस्ता आउटडेटेड नेताहरूलाई किन समानुपातिकमा राखेको भन्दै कार्यकर्ता आक्रोशित भएका छन् ।
समानुपातिकको बन्दसूचीमा समेटिएकामध्ये बाहिर सार्वजनिक भएको नाम प्रतिनिधि पात्र मात्र हो । सूचीमा धेरै नेताका आफन्त, पैसा बुझाएका, पहुँच भएका नेताहरूको नाम हुन सक्ने बुझिएको छ ।
अहिले सूचीमा राखिएका नाममध्ये धेरै अझै काटिने सम्भावना छ । किनभने दलहरूबीच सिट बाँडफाँडमा अन्तिमसम्म सहमति नजुटेका निर्वाचन क्षेत्रका हेभिवेट नेताहरूलाई सूचीमा राखिने बताइन्छ । त्यसैले अझै पनि नयाँ र युवा नेताले चान्स पाउने सम्भावना छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।