काठमाडौं- आगामी निर्वाचनमा एक्लै ठूलो पार्टी बन्ने फुइँ लगाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै निर्वाचन जित्ने सुरक्षित क्षेत्र फेला पार्न सकेका छैनन् ।
माओवादी मूलधारको राजनीतिमा आएपछि भएका तीन निर्वाचनमा प्रचण्ड एउटै निर्वाचन क्षेत्रबाट दोहोरिएर जितेको रेकर्ड छैन । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी रोल्पा र काठमाडौंबाट उठेका थिए । दुवै ठाउँबाट चुनाव जिते । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र सिरहाबाट चुनाव लडे । तर, काठमाडौंबाट लज्जास्पद पराजित भए । सिरहामा पनि हारेका थिए । तर, प्राविधिक कारण उनलाई विजयी घोषणा गरियो ।
०७४ को निर्वाचनमा उनी चितवन ३ बाट चुनाव लडे । त्यसबेला एमालेसँग गठबन्धन गरेर चुनाव जितेका प्रचण्ड अहिले कहाँबाट चुनाव लड्ने भन्ने निक्र्योलमा पुगेका छैनन् । चितवनबाट चुनाव लड्दा पनि कांग्रेस र एमाले दुईमध्ये एकको सहारा चाहिन्छ । नत्र उनले जित्ने १ प्रतिशत पनि सम्भावना छैन । किनभने चितवन ३ मा माओवादीको १० हजार मत छ भने कांग्रेस र एमालेको २९–२९ हजार मत छ । त्यही भएर प्रचण्ड कहिले गोरखा त कहिले कहाँबाट चुनाव लड्ने चर्चा चलेको छ ।
पछिल्लो पटक उनी माओवादीको बलियो पकड रहेको सिन्धुली १ बाट चुनाव लड्ने हल्ला चलेको छ । जुन क्षेत्रबाट यसअघि माओवादीका हरिबोल गजुरेलले चुनाव जितेका थिए । यसपटक गजुरेललाई समानुपातिकमा राखेर प्रचण्डलाई सिन्धुली १ बाट चुनावमा उठाउने तयारी भएको छ । केही माओवादीले भने प्रचण्डलाई सर्लाही ३ बाट चुनाव लडाउने गृहकार्य पनि थालेका छन् । जुन निर्वाचन क्षेत्रमा नारायणकाजी श्रेष्ठले आँखा लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।