काठमाडौं - सत्ता गठबन्धनमा सहयात्री माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आगामी मंसिरभित्र चुनाव होस् भन्ने चाहँदैनन् ।
वर्तमान प्रतिनिधिसभाका कार्यकालकै विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले बखेडा निकालेका छन् । उनीहरूको तर्क छ, ‘प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले पाँच वर्षे कार्यकालको गणना हुन्छ ।
वर्तमान प्रतिनिधिसभाको पहिलो बैठक ०७४ फागुन ८ गते बसेको हो । त्यसैले आगामी फागुन ८ गते मात्रै पाँच वर्ष पुग्छ । संविधानमा पाँच वर्ष पुगेको ६ महिनाभित्र चुनाव गराउने भनिएको छ ।
त्यसैले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अझै एक वर्ष पर धकेल्दा पनि केही फरक पर्दैन ।’ सोही कारण माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावको मिति घोषणा नगर्न दबाब दिँदै आएका छन् । केही दिनअघि प्रधानमन्त्री देउवाले चुनावको मिति घोषणा गर्न लागेकाले सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
तर प्रचण्डले तत्काल नगर्न चेतावनी नै दिए । प्रचण्ड फागुनमा चुनाव होस् भन्ने चाहन्छन् । त्यसैले आगामी फागुन ८ अघि आमनिर्वाचन गराउन संविधानतः नमिल्नेतर्क माओवादीका नेता देव गुरुङले खुलेआम राख्दै आएका छन् ।
०८० साल वैशाखमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गराउनु उपयुक्त हुने सुझाव माओवादी केन्द्रका नेता गुरुङले गत स्थानीय निर्वाचनको पूर्वसन्ध्यामै दिएका थिए ।
यता पार्टी संगठन निर्माणको चरणमै रहेका कारण पनि एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पनि भरसक निर्वाचन सरोस् भन्ने पक्षमै छ । तर तत्कालका लागि भने चुनावी तालमेलका लागि सिट भागबण्डामा सत्ता गठबन्धनबीच कुरा अड्केको छ । सत्ता गठबन्धनको मुख्यघटक नेपाली कांग्रेसले चुनावी तालमेल गर्ने निर्णय त गरेको छ, तर सर्त अघि सारेको छ ।
बहुमत प्राप्त हुने सम्भावना निमिट्यान्न हुने गरी तालमेल गर्न नेपाली कांग्रेसले चाहिरहेको छैन । यता माओवादीले भने कांग्रेसको बहुमत आउने सम्भावना जीवितै राखेर तालमेल नगर्ने गृहकार्य गरेको छ ।
सिट भागबण्डामा कुरा मिलेपछि मात्रै चुनावको घोषणा गर्ने भन्दै प्रधानमन्त्री देउवालाई माओवादी केन्द्रले अल्झाएर राखेको छ, तर तालमेलका लागि सिटको भागबण्डामा कुरा अड्केको छ । यसले गर्दा पनि मंसिरमा निर्वाचन नहुने सम्भावना बढ्दै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।