काठमाडौं - एमाले उपमहासचिव प्रदीप ज्ञवाली केपी ओलीका अति नै विश्वासपात्र मानिन्छन् । ओलीले आफ्ना केही कुरा बाहिर सार्वजनिक गर्नुपरे ज्ञवालीको मुखबाट बोल्न लगाउँछन् । त्यसले एउटा बहस सिर्जना गरेपछि मात्र ओलीले आफ्नो मुख खोल्छन् ।
यतिबेला निकै विवादमा परेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा पनि ओली र ज्ञवालीको डबल स्ट्यान्डर्ड देखिएको छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले संसद्भित्र र बाहिर सरकारको विदेश सम्बन्धको आलोचना गरिरहेका छन् ।
तर ज्ञवाली तिनै नेता हुन्, जसले सन् २०१८ डिसेम्बरमा परराष्ट्रमन्त्रीका रूपमा अमेरिका भ्रमण गरेका थिए । त्यस बेला अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले ‘हिन्द–प्रशान्त क्षेत्रमा नेपालको केन्द्रीय भूमिका रहने’ उल्लेख गर्दा ज्ञवाली सँगै थिए ।
ज्ञवालीले आफू सरकारमा रहँदा अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको खुलेर समर्थन गरे, तर सरकारबाट बाहिरिनेबित्तिकै उनी एकाएक यु टर्न भएका छन् । एसपीपीका सन्दर्भमा पनि सरकारमा रहँदा उनले केही बोलेनन्, तर अहिले विरोध गर्न थाले ।
चाहेको भए ज्ञवालीले आफू मन्त्री हुँदै एसपीपी चाहिँदैन भनेर अमेरिकालाई पत्राचार गर्न सक्थे । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पुगेका अवसरमा अमेरिकी उच्च अधिकारीहरूले गरिरहेको नेपाल भ्रमणलाई लिएरसमेत ज्ञवालीले प्रश्न उठाएका छन् ।
ज्ञवाली र उनको तत्कालीन दल नेकपा सत्तामा रहेका बेला सन् २०१९ मा यसरी नै चीनबाट राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीको एकपछि अर्को भ्रमण भएको थियो ।
त्यसबेला नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीको विचारधारा र सरकार सञ्चालनबारे प्रशिक्षणसमेत लिएको थियो । त्यस बेलाको गतिविधिलाई लिएर प्रतिपक्ष कांग्रेसले नेकपाको आलोचना गरेको थियो ।
प्रतिनिधिसभाको बजेट सत्रमा पूर्वपराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र त्यहाँ हुने भनिएका सम्झौताको चर्चाले नेपालको परराष्ट्र नीतिमा खलल पुग्ने हो कि भन्ने आशंका व्यक्त गरेका थिए ।
‘परराष्ट्र मन्त्रालय र स्टेट डिपार्टमेन्ट फ्रन्टलाइनमा नहुनु, भ्रमणको चाँजोपाँजो रक्षा मन्त्रालय र अन्य खालका निकाय हुनु अनि यस्ता विषयमा सहमति हुँदै छ भनेर चर्चा चल्नुले गम्भीर आशंका पैदा गरेको छ,’ उनले भने, ‘नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन ।’
उनले अन्तर्राष्ट्रिय भ्रमण र सम्झौताका विषयमा सरकारले प्रमुख प्रतिपक्षीसँग छलफल गर्न छाडेको पनि बताए । संसदीय व्यवस्थामा सरकारलाई प्रमुख प्रतिपक्षी दलले सचेत गराउने र निगरानी राख्ने जिम्मेवारी हुन्छ ।
तर नेपालका प्रतिपक्षी दलहरू पहिलेदेखि नै आफ्नो दलीय स्वार्थका लागि परराष्ट्र नीति र सम्बन्धलाई घुसाउने गरेका छन् । स्थानीय तहको निर्वाचन सकेर संघीय र प्रदेश निर्वाचन आउन लागेको सन्दर्भमा समेत राजनीतिक दलहरूले अन्तर्राष्ट्रिय सम्बन्ध जोडेर अभिव्यक्ति दिइरहेका छन् । सरकारमा रहेका बेला भारत, चीन र अमेरिकासँग सन्तुलित नीति अवलम्बन गरेको दाबी गर्ने नेताहरू विपक्षमा पुगेपछि तिनै मुलुकसँग अर्को सरकारले गरेको व्यवहारप्रति सदनभित्र र बाहिर विरोध गर्ने गरेका छन् ।
यसैबीच, आज प्रधानमन्त्री देउवासँग संसदीय समितिले अमेरिकी भ्रमणबारे छलफल गर्ने भएको छ । अघिल्लो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्रीलाई समितिमा छलफलका लागि बोलाउने निर्णय गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।