काठमाडौं - कमल थापाले राप्रपा परित्याग गरेको भोलिपल्टै अर्का प्रभावशाली नेताले पनि पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
बुधबार बिहान राप्रपा नेता उद्धव पौडेलले पार्टी छाडेको घोषणा गरेका हुन् । गोपीकृष्ण मुभिज समूहका अध्यक्षसमेत रहेका पौडेल थापा निकट नेता हुन् । उनी राप्रपाका कोषाध्यक्षसमेत भइसकेका छन् ।
उनी राप्रपा काठमाडौका प्रभावशाली नेतासमेत हुन् । उनी काठमाडौं ४ बाट राप्रपाबाट संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत बन्ने गरेका थिए ।
पौडेलले आफूलाई असफल विद्यार्थी रूपमा राख्दै राप्रपा त्याग्नुपर्दा दुःखी र भावुक भएको उल्लेख गरेका छन् । ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ ।
असफल विद्यार्थीको रूपमा अत्यन्तै दुःखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहेछ। आजैदेखि राप्रपासँँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु।
जय होस्,’ पौडेलले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् । राप्रपा त्यागेका कमल थापाले आजैदेखि नयाँ पार्टी गठनको गृहकार्य सुरु गर्ने भएका छन् ।
थापाको पार्टीमा पदाधिकारीमा बस्नुपर्ने भएकाले पौडेलले आजै राप्रपा त्यागेका हुन् । सम्भवतः आज राप्रपामा सयौं नेता कार्यकर्ताले विद्रोह गरेर कमल थापाको पार्टीमा जाने स्रोतले बतायो । स्थानीय तहको निर्वाचनको मिति तोकिसकेकाले थापाले आजै नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।