काठमाडौं - विवेकशील साझा पार्टीले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ।
सो यात्रा कञ्चनपुरबाट २७ पुसमा सुरु गरिने र सहिद दिवसको दिन १६ माघमा झापामा आएर अन्त्य हुनेछ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। यात्राको विस्तृत विवरणपछि प्रकाशित गरिने साझाले जनाएको छ।
नागरिकका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आमसर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आमनागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुने साझा विवेकशील पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सबैभन्दा माथि देश नै हो भन्ने भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवसबाहेक अर्को हुन नसक्ने बताएका छन् ।
केही समययता मिश्रले राजावादी लाइन बोकेको भन्दै उनको आलोचना हुँदै आएका छ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले अबदेखि आफ्नो पार्टीले राजसंस्था पुनस्र्थापनाको एजेन्डा नबोक्ने भनेर घोषणा गरेको केही दिनभित्रै मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर मेची–काली यात्रा सुरु गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यसअघि मेची–काली यात्रा राप्रपा र एमालेले गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।