काठमाडौं – नेपाली कांग्रेसका चर्चित केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्प्रति घृणा जागेका कारण लगातार संसद् अवरुद्ध गरेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले संसद्प्रति ओलीको घृणा सिंगो नेकपा एमालेमा पनि पुगेकाले एमाले संसदीय मर्यादामा बस्न नसकेको बताएका छन् ।
‘केपी शर्मा ओलीलाई संसद्सँग घीन लाग्छ, उहाँलाई संसद् देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभो । संसद्लाई बेवास्ता गर्नुभो । पटक–पटक भंग गर्नुभयो,’ थापाले भने, ‘अहिले संसद् पुनस्र्थापित भइसकेपछि उहाँलाई संसद्सँग यति घृणा लाग्छ कि यो संसद्लाई उहाँले पंगु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दै गर्दा सिंगो नेकपा एमालेलाई संसद्प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’
थापाले पार्टीको १४औं महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताए । उनले बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेतालाई दिएको जिम्मेवारी नेताले पूरा नगरी जवाफदेहिता विनाको राजनीति गरिएको टिप्पणी थापाले गरेका छन् ।
‘महाधिवेशनबारे जुन अन्योल छ, यो अन्योल थप बढ्दै गएको छ । महाधिवेशनको १३ जिल्ला जुन बाँकी छ, १३ जिल्लाको सदस्यताका कुरा टुंग्याउने कुरा तत्काल आजभोलि गरिएन र यो तिथिमिति सार्दै जाने, जति सारे पनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ,’ थापाले भने, ‘महाधिवेशनको तिथिमिति सार्ने कुरा अब पार्टीका नेताले आउन दिनुहुन्न । त्यो अप्ठ्यारो आउन दिनुहुन्न भन्ने लागिरहेको थियो तर जुन हल्का ढंगले महाधिवेशनबारे एउटाले सारौं भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाए पनि, तन्काइदिए पनि भयो । कसैले जवाफ दिनु नपर्ने, बैठक पनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पुरा गर्न नसकेपछि जवाफ दिनु नपर्ने ? जवाफदेहिता विनाको राजनीति पार्टीभित्र भएपछि यस्तो अवस्था भएको हो । अहिले यसलाई अन्त्य गरिएन भने यो अनन्तः कालसम्म यसरी जान सक्छ । यसले हाम्रो अधिवेशनलाई थप अनिश्चित बनाएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।