मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

सभापति देउवाले पुनः सभापति बन्ने बताएकै दिन रामचन्द्र पौडेलको यस्तो बोली !

सभापति देउवाले पुनः सभापति बन्ने बताएकै दिन रामचन्द्र पौडेलको यस्तो बोली !

  • मिडिया डबली
  • शनिवार, आषाढ ५ २०७८

  • 13.5K
    SHARES

  • सभापति देउवाले पुनः सभापति बन्ने बताएकै दिन रामचन्द्र पौडेलको यस्तो बोली !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापति पदमा उम्मेदवारी दिएर पार्टीलाई नम्बर १ बनाउने बताएकै दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको अभिव्यक्ति दिएका छन् ।

    स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न तनहुँमा शनिबार आयोजित कार्यक्रममा नेता पौडेलले सक्षम नेतृत्व कांग्रेसलाई आवश्यक रहेको बताए । नेता पौडेलले सफल नेतृत्व को हो भनेर खुलाएनन् ।

    images

    ‘मुलुक २ धु्रवमा विभाजित छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडि बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौं,’ पौडेलले भने, ‘हामीसँग कोही मिल्न आउँछन् भने उनीहरूलाई टाढा बनाउन आवश्यक छैन ।’

    वरिष्ठ नेता पौडेलले नेपालको राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताएका छन् । 

    यससँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको चहलपहल सुरु भएको छ । शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौमा महाधिवेशन गर्ने निधो गरेपछि सभापति पदका आकांक्षी सतहमा देखिन थालेका छन् ।

    सभापति शेरबहादुर देउवाले नै दोस्रो कार्यकाल दोहोरिने गरी सभापतिमा उम्मेदवारी दिने निर्णय गरेका छन् । यसबारे देउवाले आफू निकट नेताहरूसँग छलफल समेत अगाडि बढाएका छन् ।

    सभापति देउवा पक्षकै उपसभापति बिमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने इच्छा देखाएका बेला दुवै नेताबीच देउवानिवास बुढानिलकण्ठमा शनिबार छलफल भएको छ । तर छलफलमा दुवै नेताबीच कडा टक्कर देखिएको स्रोतले जनाएको छ ।

    सभापति देउवासँगको भेटमा उपसभापति बिमलेन्द्र निधिले आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् । देउवाले सहयोग माग्न बोलाएका बेला निधिले उल्टै सहयोग गर्न आग्रह गरेर महाधिवेशनको माहोलमा सन्नाटा छाएको छ ।

    सभापति देउवाले निधिलाई आग्रह गर्दै भने, ‘सभापतिमा फेरि उठ्छु । २ नम्बर प्रदेशबाट धेरै महाधिवेशन प्रतिनिधि छान्नका लागि तपाईंले सहयोग गरिदिनुपर्‍यो ।’ जवाफमा निधिले भने, ‘तपाईंलाई सहयोग गर्न सकिँदैन, यसपालि संस्थापन पक्षबाट म उम्मेदवार हुन्छु, मलाई सहयोग गर्नुपर्‍यो ।’ यसरी दुवै नेताबीच बुढानिलकण्ठमा कडा टक्कर भएको छ ।

    निधिको जवाफ सुनेपछि देउवाले उम्मेदवार बन्ने स्वतन्त्रता सबैलाई रहेको जवाफ फर्काएका थिए । निधिले फेरि भने, ‘विगतमा तपाईंलाई मैले सहयोग गर्दै आएको छु । यसपटक सभापतिमा म उम्मेदवार बन्छु । प्रधानमन्त्री तपाईं बन्नुस् । मैले गर्ने सहयोग गरिरहन्छु ।’

    महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिमा दोहोरिन खोजेका देउवाले ७ वटै प्रदेशका आफूनिकटका नेताहरूसँग छलफल सुरु गरेका छन् । शनिवार बिहान देउवाले १ नम्बर प्रदेशका केन्द्रीय नेताहरूलाई बोलाएका थिए ।

    देउवाले दिउँसो २ नम्बर प्रदेशका नेतासँग समेत छलफल गरेका छन् । देउवाले निधिसँग छुट्टै छलफल गरेका हुन् ।

    देउवाले सामूहिक छलफलमा प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेताहरूसँग आफू अन्तिम पटक सभापतिमा उठ्न लागेको र सभापति बनेपछि पार्टीलाई पुरानै अवस्था पहिलो नम्बरमा फर्काएर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

    देउवाले नेताहरूसँग भने, ‘अन्तिम पटकको लागि सभापतिमा लड्ने हो, पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर चुनावमा पहिलो नम्बरको बहुमत दिलाउन लाग्छु ।’

    शनिबारको छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, डा. डीला संग्रौला लगायत प्रभावशाली नेताहरु सहभागी रहेका थिए ।

    देउवाले सबैलाई भनेका छन्, ‘तपाईंहरुले विगतमा जसरी सहयोग गर्नुभएको छ, अब पनि सहयोग गर्नुस् । कांग्रेसलाई देशको नम्बर १ पार्टी बनाउने योजनासहित समावेशी टीम बनाएर महाधिवेशनमा जान्छु ।’

    सभापति देउवाले महाधिवेशनलगत्तै ३ वटै तहको निर्वाचनको तयारी गर्नुपर्ने भएकाले पार्टीलाई चुस्तदुरुस्त बनाएर लैजाने बताएका छन् । २०७२ सालमा सम्पन्न १३ औं महाधिवेशनबाट देउवा सभापति पदमा निर्वाचित भएका हुन् । 

    कांग्रेसका तत्कालीन कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतअन्तरले हराउँदै देउवा सभापति बनेका हुन् । देउवाको पक्षमा १ हजार ८२२ र पौडेलको पक्षमा १ हजार २९६ मत खसेको थियो ।

    शुक्रबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गाउँ, नगर वडाको अधिवेशन साउन १२ गते, गाउँपालिका, नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्न प्रस्ताव गरेको छ ।

    प्रदेश अधिवेशन भदौ १ र २ तथा केन्द्रीय अधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका संशोधन गरेर पारित गरेको थियो । 

    आगामी महाधिवेशनमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले सभापतिमा उम्मेदवारी दिने चर्चा छ । 

    कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा देउवा, पौडेल, कोइराला कुनै पनि पक्षमा सर्वसम्मत उम्मेदवार देखिएका छन् । कांग्रेस नेपालको पुरानो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसको नयाँ नेतृत्वमा सबैको चासो रहने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology