बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओली गफ मात्रै दिन्छन्, १ करोड ९३ लाख ७३ हजार नेपालीले खोप कहिले पाउलान् ?

केपी ओली गफ मात्रै दिन्छन्, १ करोड ९३ लाख ७३ हजार नेपालीले खोप कहिले पाउलान् ?

  • मिडिया डबली
  • सोमवार, जेठ ३१ २०७८

  • 7.1K
    SHARES

  • केपी ओली गफ मात्रै दिन्छन्, १ करोड ९३ लाख ७३ हजार नेपालीले खोप कहिले पाउलान् ?

    काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रुपमा अघि बढ्न सकेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राज्य संयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रुपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगति समेत हुन सकेको छैन ।

    कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन । जसका कारण खोपको आशा गर्दै बसिरहेका आमनागरिक समयमै खोप नपाउने चिन्ताले सताउन थालेको छ । खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७६३ जनामध्ये हालसम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन् । बाँकी १ करोड ९३ लाख ७३ हजार ७६३ जना खोपको प्रतीक्षामा रहेका छन् ।

    सरकारले आगामी मंसिरसम्म खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाउने प्रतिबद्धता जनाएको थियो तर हालसम्मको प्रगति हेर्दा सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ । खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका देशले खोप उपलब्ध गराउने सुनिश्चितता नजनाउँदा खोप अभियान अपेक्षा गरेअनुसार अघि बढ्न सकेको छैन । खोप ल्याउन सरकारले आफ्ना संयन्त्रको समेत सशक्त परिचालन गर्न सकिरहेको देखिँदैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख ९१ हजार ४९४ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । कोभिड–१९ खोपको लक्षित समूहको प्राथमिकीकरण अनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउनुपर्ने हुन्छ ।

    यसरी हेर्दा अनुमानित १ करोड ९३ लाख ७३ हजार ७६३ जना खोपबाट वञ्चित छन् ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको गत जेठ २८ गतेसम्मको तथ्याकंलाई आधार मान्दा २३ लाख ८३ हजार जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् ।

    कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका करीब १३ लाख ५० हजार नागरिक दोस्रो डोजको प्रतीक्षामा छन् । भारत सरकारमार्फत खरिद गरिएको १० लाख डोज नआउँदा ती नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारत सरकारले तत्काल खरिद गरिएको खोप उपलब्ध गराउन नसक्ने जनाएपछि खोप अभियान प्रभावित भएको छ ।

    सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन सुरू गरेको थियो । १४ जिल्लामा ५५ वर्ष माथिका व्यक्तिलाई पनि खोपको पहिलो डोज लगाइएको थियो । यद्यपि कोभिसिल्डको पहिलो मात्रा (डोज) लगाएका व्यक्तिलाई दोस्रो डोजका रुपमा एस्ट्राजेनेका लगाइने भनिए पनि सो खोपको पनि कहिले आउने सुनिश्चित छैन ।

    अब कोभिसिल्डको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    तर विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्रमा दोस्रो डोज लगाइसक्नुपर्ने हुन्छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले खोप उपलब्धताका लागि विभिन्न देशलाई आग्रह गरे पनि खोप आउने सुनिश्चितता अझै नभएको बताए । डा. पोखरेलले भने, ‘अहिलेसम्म कुनै देशबाट पनि खोप उपलब्धताको सुनिश्चितता पाएका छैनौं । हाल चीन सरकारले उपलब्ध गराएको भेरोसिल खोप ज्येष्ठ नागरिकलाई लगाउने कार्य जारी छ ।’

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोप आयातका लागि कूटनीतिक रुपमा पहल भइरहेको बताएका छन् ।

    स्वास्थ्य मन्त्रालयले कोरोना खोपका लागि ४ खोप उत्पादक कम्पनीलाई पत्राचार गरेको थियो । नेपालमा दर्ता भएका कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एन्ड जोन्सनलाई ५० लाख डोज खोप खरिदका लागि पत्राचार गरे पनि ठोस परिणाम आउन सकेको छैन ।

    हालसम्म ४१ लाख ४८ हजार कोरोना विरुद्धको खोप भित्रिएको छ । भारत सरकारले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख मात्रा, खरिद गरिएको १० लाख मात्रा खोप नेपाल भित्रिएको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख मात्रा र कोभ्याक्स फ्यासिलिटी अन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप नेपाल आएको छ ।

    कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी १ करोड ३० लाख डोज खोप उपलब्ध गराउनुपर्ने भए पनि यसबारे ठोस परिणाम निस्किन सकेको छैन ।

    कोरोना विरुद्धको खोप अत्यधिक माग र मागअनुसार आपूर्ति हुन नसक्नु नै खोप अभियानमा चुनौती रहेको सरकारले औंल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग अनुसार खोप आपूर्ति हुन नसक्दा अभियान सञ्चालन तथा व्यवस्थापनका क्रममा कठिनाइ भएको औंल्याएको छ ।

    सरकारले निकट भविष्यमै खोप ल्याउने भनेर आशा देखाए पनि खोप सन्दर्भमा ठोस परिणाम ननिस्किँदा आमनागरिक चिन्तित बनेका छन् ।

    पूर्व तयारीको समय कम भएकाले खोप लिने व्यक्तिको सूची तयार गर्न चुनौती रहेको, निश्चित स्थानमा खोप केन्द्र रहेकाले खोप सेवाको पहुँचमा कमी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले हाल सञ्चालन गरेको भेरोसिल खोपमा ज्येष्ठ नागरिक (६०–६४ वर्ष) लाई प्राथमिकीकरणमा राखे पनि अन्य समूहले खोप लगाउन पाएका छैनन् ।

    ज्येष्ठ नागरिकहरुको खोप केन्द्रसम्म सहज पहुँच नभएको, समयमै पर्याप्त खोप प्राप्त नहुँदा सूचना सम्प्रेषणमा कठिनाइ भएको बताइएको छ । खोप अभियान सञ्चालका क्रममा दैनिक खोप प्रगति विवरण संकलनमा कठिनाइ भएको स्वास्थ्यको बुझाइ छ । हालसम्म कति नागरिकले खोप लगाए भन्ने बारेमा विस्तृत तथ्याकंगत विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन ।

    हाल नेपालमा कोभिसिल्ड र भेरोसेल खोप उपयोगमा आएको छ । अध्ययन अनुसन्धानले कोभिसिल्ड खोपको प्रभावकारिता ८१ दशमलव १३ प्रतिशत र भेरोसेल खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको देखाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend