काठमाडौँ – कम्युनिस्ट प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कानुनी र राजनीतिक दुबै लडाईँमा जाने निर्णय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको छ ।
राष्ट्रपति भण्डारीबाट संसद विघटन गरेर निर्वाचनको घोषणा भएपछि सभापति शेरबहादुर देउवा निवासमा शनिबार अकस्मात बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले संसद विघटनविरुद्ध अदालतको ढोका ढक्ढक्याउने तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘शुक्रवार मध्यरातमा राष्ट्रपतिबाट भएको कदमको विरोध गरिएको छ । यस निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय भएको छ ।’
सरकारका लागि दावी प्रस्तुत गर्दागर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै विघटन गर्नु असंवैधानिक रहेको कांग्रेसले ठहर गरेको पौडेलले बताए । यसबारे थप रणनीति बनाउन विपक्षी दलहरूसँगको संयुक्त बैठकमा छलफल हुने पौडेलले बताएका छन् ।
नेता पौडेलले तत्काललाई मध्यावधि चुनावभन्दा पनि संसद विघटन विरुद्धको लडाइँ मुख्य रहेको बताए ।
राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री ओलीको सिफारिसमा शनिवार सबेरै प्रतिनिधिसभा भंग गरेर आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।