आइतवार, बैशाख २६ २०७८May 09 2021

Logo
images
images
images
images

जसपामा नयाँ मोड : सबै सांसदलाई आकस्मिक बोलावट, ओलीलाई सघाउन भित्रभित्रै खेल

जसपामा नयाँ मोड : सबै सांसदलाई आकस्मिक बोलावट, ओलीलाई सघाउन भित्रभित्रै खेल

  • मिडिया डबली
  • सोमवार, बैशाख २० २०७८

  • 2.3K
    SHARES

  • जसपामा नयाँ मोड : सबै सांसदलाई आकस्मिक बोलावट, ओलीलाई सघाउन भित्रभित्रै खेल

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालमा पूर्व राजपा र पूर्व समाजवादी धारबीच शक्ति संघर्ष नयाँ मोडमा पुगेको छ ।

    प्रधानमन्त्री ओलीलाई निरन्तरता दिने कि तत्काल हटाउने भन्ने विषयमा २ पक्षबीच ध्रुवीकरण बढिरहेका बेला लुम्बिनी प्रदेशका ४ सांसद पदमुक्त गरिएपछि जसपाभित्र विवाद उत्कर्षमा पुगेको छ ।

    images
    images

    केन्द्रमा ओली र प्रदेशमा उनीनिकट मुख्यमन्त्री हटाउन जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष विना शर्त लागिरहेको छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने ओलीलाई सहयोग गर्ने पक्षमा रहेको छ ।

    प्रधानमन्त्री ओलीले संसदमा राख्ने विश्वासको प्रस्तावमा समेत पार्टीभित्र एकता नहुने सम्भावना बढेपछि यादव आफ्नो बहुमत कायम राख्ने र ठाकुर बहुमत पुर्‍याउने होडमा रहेका छन् । आ–आफ्नो पक्षमा निर्णय गराउन र कारवाहीको डन्डा चलाउन दुबै पक्ष पार्टीको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमत जुटाउने कसरतमा रहेका छन् ।

    केन्द्रीय कार्यकारिणी समितिमा पूर्व समाजवादी धारका जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष प्रष्ट बहुमतमा देखिएको छ । पूर्व राजपा धारका ३ सदस्यले यादव पक्षलाई साथ दिएपछि केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा परेको छ । तर ठाकुर पक्षले केही दिनभित्रै केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुबैमा आफ्नो पक्षको बहुमत पुर्‍याएरै छाड्ने दाबी गरेको छ ।

    अध्यक्ष ठाकुर पक्षको आईतवार बबरमहलस्थित पूर्व राजपाको कार्यालयमा बसेको अनौपचारिक बैठकले आफ्नो पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य र संघीय संसद सदस्यलाई टेलिफोनमार्फत् सोमवारसम्म अनिवार्य राजधानी आइपुग्न उर्दी जारी गरेको छ । बैठक मंगलवार बस्ने तय भएको पूर्व राजपाका एक नेताले बताएका छन् ।

    ‘यो बैठक आफ्नो पक्षको स्ट्रेन्थ (शक्ति) कति छ भन्नका लागि पनि हो, अर्को कुरा पार्टी र संसदीय दल दुबैमा बहुमत पुर्‍याएर यादव पक्षले गरेको विधान, प्रक्रिया र विधि विपरीतका कदमको प्रतिवाद गर्ने र ओलीले संसद्मा राखेको विश्वासको प्रस्तावमा सके समर्थन जनाउने, नसके तटस्थ बस्ने रणनीति समेत हो,’ अध्यक्ष ठाकुर निकट स्रोतले जनायो ।

    अध्यक्ष यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमत हस्ताक्षर सहितको निर्णयका आधारमा बिहीवार लुम्बिनी प्रदेशका आफ्ना ४ सांसदलाई पदमुक्त गरेको थियो । पार्टी नीति विपरीत प्रधानमन्त्री ओली निकटका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादव पक्षले उनीहरुलाई सांसद पदबाट हटाउने निर्णय गरेको छ ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै जसपाका ५ सांसद सरकारमा सहभागी भएका थिए ।

    केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेपछि ठाकुर पक्ष तत्काल रक्षात्मक अवस्थामा पुगे पनि बहुमत पुर्‍याउन कोसिस गरिरहेको छ । पूर्व राजपा पक्षका महेन्द्रराय यादव, रमेशप्रसाद यादव र गजाधर यादवले साथ छाड्दा ठाकुर अल्पमतमा परेका छन् । पूर्व राजपामा अध्यक्ष मण्डलका सदस्य समेत रहेका महेन्द्र राय एकीकरणपछि आफ्नो स्थान सुरक्षित नहुँदा ठाकुर र महतोसँग असन्तुष्ट थिए । खासगरी उनको आन्तरिक द्वन्द्व ठाकुरसँग भन्दा महतोसँग रहेको थियो ।

    पार्टी एकताका बेला ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा पूर्व राजपाबाट २६ र पूर्व समाजवादीबाट २५ सदस्य हुने गरी भागबण्डा मिलाइएको थियो । पूर्व समाजवादीका पर्शुराम खापुङ र हेमराज राईले यादवका पक्षमा हस्ताक्षर गरेका छैनन् । तर पूर्व राजपाका महेन्द्र राय, रमेश र गजाधरले साथ दिँदा यादवको पक्षमा बहुमत देखिएको छ । ठाकुरले पूर्व राजपाका नेताहरुलाई आफ्नै पक्षमा ल्याउन कोसिस गरिरहेका छन् । अर्का अध्यक्ष यादवले पूर्व राजपाका शरतसिंह भण्डारी र राजकिशोर यादव सहितका नेतालाई पनि आफूतिर तान्न संवाद गरिरहेका जनाइएको छ ।

    लुम्बिनी प्रदेश प्रकरणदेखि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन गरेको निर्णयसम्मले जसपाभित्र पूर्व राजपा र पूर्व समाजवादी पक्षबीचकै ध्रुवीकरण बढाउँदै अन्ततः पार्टी विभाजन हुन सक्नेसम्मको जोखिम बढेको भन्दै दुबै पक्षका मध्यमार्गी नेताहरुले चिन्ता प्रकट गरेका छन् । संसदीय दलमा दुबै पक्षले आ–आफ्नो बहुमत रहेको दाबी गरेका छन् । तर भित्री रुपमा दुबैलाई बहुमत पुग्ने विश्वास छैन ।

    प्रधानमन्त्री ओलीले गत वर्ष बैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि तत्कालीन समाजवादी र राजपाले रातारात पार्टी एकता गरेका थिए । त्यतिबेला समाजवादी पार्टी विभाजन गर्ने भूमिकामा प्रधानमन्त्री ओली नै जोडिएका थिए । एकीकरणको १ वर्षमै प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्तावमार्फत हटाउने कि नहटाउने भन्ने विवादले फेरि जसपा विभाजनउन्मुख बनेको छ । ठाकुर पक्ष ओलीलाई सरकारबाट तत्काल हटाउने पक्षमा छैन ।

    ओली नेतृत्वको सरकारबाटै आफ्ना राजनीतिक र प्रशासनिक मुद्दा सम्बोधन गराउन कार्यदल बनाएरै गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन ठाकुर पक्षले उठाएका मधेश र थरुहट आन्दोलनका क्रममा जेल परेका कार्यकर्तालाई छुटाउने र मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढाएका छन् । त्यसलाई आधार मानेर ओलीलाई तत्काल हटाउने पक्षमा ठाकुर पक्ष नभए पछि यादव पक्षले बहुमतका आधारमा अविश्वास प्रस्तावमा समर्थन जनाउने निर्णय समेत गरेको छ । अध्यक्ष यादवको अध्यक्षतामा बैशाख १४ गते बसेको भनिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा लुम्बिनीका ४ सांसदलाई कारबाही गर्ने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रस्तावमा समेत समर्थन जनाउने निर्णय भएको छ ।

    अविश्वास प्रस्ताव सम्बन्धी निर्णय भने यादव पक्षले सार्वजनिक गरेको थिएन । प्रमुख प्रतिपक्ष कांग्रेसले जसपा सग्लो र एकताका साथ वैकल्पिक सरकारको पक्षमा नउभिँदासम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमानेपछि निर्णय बाहिर नल्याइएको जनाइएको छ । ‘कांग्रेस तयार भएको भए अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने निर्णय पनि बाहिर आउँथ्यो । तर कांग्रेस नै तयार देखिएको छैन,’ यादवनिकट स्रोतले भन्यो, ‘सहमतिबाट निर्णय हुन नसकेपछि बहुमतले गरिने निर्णय लोकतान्त्रिक विधि र प्रक्रियाअन्तर्गत नै पर्छ । यसलाई सबैले मान्न कर लाग्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology