काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन् ।
आयोगमा अध्यक्ष र २ सदस्य गरी ३ पदाधिकारी नियुक्त हुन सकेका छैनन् । ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प रहेका छन् ।
यसको नकारात्मक असर विद्यालय शिक्षामा समेत परेको छ । आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको ५ वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरुको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य १/१ जना गरी ३ वटै पद रिक्त छन् ।
आयोगको विधानमा भएको व्यवस्थाअनुसार लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरिएको थियो ।
लोक सेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा ऐनले नै गठन गरेको ३ सदस्यीय समितिले ३ महिनाअघि नै शिक्षा मन्त्रालयमा शिक्षक सेवा आयोगका पदाधिकारीको नाम सिफारिस गरेको थियो । समितिले नेपाल सरकारका पूर्व सचिव मधु रेग्मीलाई अध्यक्ष, महिला सदस्यमा कीर्तिपुरस्थित जनसेवा माविका पूर्व प्रअ नन्दकुमारी महर्जन र पुरुष सदस्यमा शिक्षा मन्त्रालयका पूर्व सहसविच डा. डिल्लीराम रिमालको नाम सिफारिस गरी मन्त्रालयमा बुझाएको थियो ।
मन्त्री श्रेष्ठले सिफारिस गरिएका नाम मन्त्रिपरिषद्मा लगेर निर्णय गराउनुको साटो पुनर्विचार गर्नुपर्ने भन्दै लोक सेवा आयोगमा फिर्ता पठाइदिएका थिए । त्यस लगत्तै आफूले लोक सेवा आयोगको निर्णय विधिपूर्वक भएको र मापदण्डमा परेका योग्य व्यक्तिको नाम सिफारिस गरिएकाले पुनर्विचार गर्न नसकिने भन्दै लिखित जवाफ पठाएको लोक सेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीले बताएका छन् ।
‘लोक सेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकूलपति र शिक्षा सचिवसहित रहेको ३ सदस्यीय नाम सिफारिस समितिले अध्ययन गरी विधिपूर्वक मापदण्डमा परेका योग्य र सक्षम उम्मेदवारको नाम अध्यक्ष र सदस्यमा सिफारिस गरेको हो,’ निवर्तमान अध्यक्ष मैनालीले भने, ‘छनोट समिति शिक्षा मन्त्रालयले गठन गरेको होइन । शिक्षा ऐनअनुसार गठित समिति हो । शिक्षामन्त्रीको स्वार्थअनुसार मन्त्रीले रुचाएको व्यक्तिलाई सिफारिस गर्ने यो समिति होइन । त्यही भएर मैले मन्त्रीको पुनर्विचार गर्नुपर्ने पत्र पाएकै दिन यसमा पुनर्विचार गर्न सकिँदैन भनेर लिखित जवाफ पठाएको थिएँ । लोकसेवा आयोगले यसमा कुनै पनि अवस्थामा पुनर्विचार गर्दैन । शिक्षक सेवा आयोगमा सिफारिस गरिएका नामअनुसार मन्त्रालयले कि पदाधिकारी नियुक्ति गर्नुपर्यो कि आयोग पदाधिकारीविहीन राख्नुपर्यो ।’
यति मात्र होइन, निवर्तमान अध्यक्ष मैनालीका अनुसार शिक्षा मन्त्रीले लोक सेवा आयोगले सिफारिस गरेका नामको फाइन नै मन्त्रालयको दराजमा थन्काइदिएका छन् । अध्यक्ष मैनालीको लोक सेवा आयोग अध्यक्षबाट मंगलवार पदावधि सकिएको छ ।
आफूले रुचाएका व्यक्ति सिफारिसमा नपरेपछि मन्त्री श्रेष्ठले फाइल मन्त्रालयमै थन्काइदिएको मन्त्रालयकै कर्मचारी बताउँछन् । ‘मन्त्रालयमा प्राप्त भएको शिक्षक सेवाको पदाधिकारीको नाम मन्त्रीज्यूले मन्त्रिपरिषदमै लग्नुभएन,’ ती कर्मचारीले भने, ‘मन्त्रीज्यूको मन परेको व्यक्ति नपरेपछि फाइल अघि बढेन । मन्त्रालयकै एक दराजमा थन्किएको छ ।’
मन्त्रीको लापरबाहीका कारण हाल विद्यालय तहका प्राविदेखि माविसम्मका १२ हजार रिक्त पदमा स्थायी पदपूर्तिको काम समेत रोकिएको छ । आयोगमा पदाधिकारी नहुँदा देशभर स्थायी दरबन्दीमा शिक्षक नियुक्ति र बढुवाकोे काम रोकिएको छ ।
आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले आयोगका मुख्य पदाधिकारी नहुँदा गर्नुपर्ने मुख्य काम र निर्णय हुन नसकेको बताएका छन् । श्रेष्ठले आयोगले सञ्चालन गर्नुपर्ने सबै परीक्षा रोकिँदा विद्यालयको शैक्षिक गुणस्तरमा नकारात्मक असर परेको जनाएका छन् ।
‘परीक्षाको विज्ञापन, सञ्चालन र नतिजा प्रकाशनलगायत सबै काम ठप्प छन् । देशभरिका शिक्षक बढुवा र स्थायी नियुक्ति रोकिएको छ,’ श्रेष्ठले भने, ‘हालसम्म आयोगमा २ हजार ७०० बढुवाका लागि र १२ हजार रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि माग आएको छ । आयोगमा ४० कर्मचारी कार्यरत छन् । आन्तरिक काम भने भइरहेको छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।