काठमाडौं – सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएको नेकपा एमालेको माधवकुमार नेपाल पक्षले साथ छाड्ने तयारी गरेको छ ।
चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल पक्षले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्री शाहीलाई आफूहरूको समर्थन कायमै रहेको बताएको थियो ।
‘अब पहिलेको जस्तो अवस्था रहेन,’ नेपाल पक्षका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं ।’
नेपाल पक्षका सांसदहरूले चैत ४ गतेयता कानूनका जानकारहरूसँग १० जनाको उपस्थितिमा भएको दलको बैठकको वैधानिकता, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अहिलेको सरकारलाई आफ्नो पक्षको समर्थन कायम राख्दा हुने जटिलताका विषयमा छलफल गरेका थिए ।
सांसद थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने समेत बताए । ‘दलको बैठकले समर्थन फिर्ताको निर्णय गरिसकेकाले यसलाई टुंगोमा पुर्याउँछौं,’ थापाले भने, ‘अब कर्णालीमा एमालेको सरकार बन्छ ।’
थापाले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले चाँडै राजीनामा दिने समेत बताएका छन् । नेपाल पक्षका अर्का सांसद अम्मरबहादुर थापाले आफूहरूले केन्द्रको निर्णय पर्खिरहेको बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।