काठमाडौं – नयाँ सरकार बनाउन विभिन्न अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन् ।
आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दावी रहेको छ ।
जसपा स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिक देखिएका छन् ।
एक–डेढ महिनायता उनीहरुबीच पटक–पटक भेटघाट र कुराकानी भएको स्रोतले जनाएको छ । जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदल समेत गठन गरेको छ । कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरु सुवास नेम्वाङ र राजन भट्टराई रहेका छन् ।
जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाइएको छ । शुक्ल र कर्ण दुबै अध्यक्ष ठाकुरनिकट रहेका छन् । ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए । कार्यदल सहमतिनजिक पुगेको स्रोतले जनाएको छ ।
जसपा कार्यदल सदस्य कर्णले सहमतिका लागि २ पक्षबीच वार्ता जारी रहेको बताएका छन् । ‘हामी सहमतिमा पुग्न वार्ता गरिरहेका छांै,’ उनले भने ।
१–२ दिनमा कार्यदलको अर्को बैठक बस्ने उनले बताएका छन् । जसपाका एक पदाधिकारीले सरकार–जसपा वार्तामा धेरै प्रगति भएको दाबी गरे ।
‘केही दिनमै प्रधानमन्त्रीले हाम्रा माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।
जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीको रिहाइका लागि वातावरण बनाउनुपर्ने, मधेश आन्दोलनमा लगाइएका झूटा मुद्दा खारेज गर्नुपर्ने, घाइतेहरुको उपचार गर्नुपर्ने तथा संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको छ ।
सरकारले तत्काल पूरा गर्न सक्ने माग भनेको लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नु मात्र हो । अन्य माग पूरा गर्न अदालती प्रक्रियामा जानुपर्छ । संविधान संशोधनका लागि दुईतिहाइ चाहिन्छ । तर संविधान संशोधन प्रस्ताव सरकारले प्रतिनिधि सभामा दर्ता गर्न सक्ने छ ।
प्रधानमन्त्री ओली वा माओवादी केन्द्र कोसँग मिलेर अघि बढ्ने भन्ने विषयमा जसपाभित्र चर्को विवाद रहेको छ । ठाकुरनिकट नेताहरु वर्तमान सरकारले जसपाको माग पूरा गर्ने भए नेकपा एमालेलाई साथ दिनुपर्ने अडान राख्दै आएका छन् ।
‘माओवादी केन्द्रतिर लागे उधारोमा र वर्तमान सरकारतिर लागे नगदमा सहमति हुन्छ,’ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) महासचिव रहेका राजीव झाले भने, ‘नगदमा पाउँदा–पाउँदै उधारोमा सहमति किन गर्ने ?’
जसपा स्रोतका अनुसार केही दिनअघि महान्यायाधिवक्ताबाट अग्नि खरेलले दिएको राजीनामा प्रकरण पनि यसै घटनासँग जोडिएको छ । ‘अग्नि खरेल टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीको रिहाइको विषयमा कुरै गर्न चाहनुहुन्नथ्यो तर प्रधानमन्त्री जसपाले राखेको माग पूरा गर्ने पक्षमा हुनुहुन्छ,’ जसपाका अर्का एक पदाधिकारीले भने, ‘माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएपछि खरेलजीले राजीनामा गर्नुभएको छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।