वीरगञ्ज – वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन् ।
वीरगञ्जस्थित नारायणी अस्पताल र त्यस मातहत सञ्चालन गरिएका कोभिड–१९ अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता बापतको रकम अस्पतालको खातामा २ महिनाअगावै पठाएको भएपनि आफूहरुले नपाएको स्वास्थ्यकर्मीको गुनासो छ । साउनदेखि कात्तिकसम्म ४ महिनाको भत्ता नपाएको भन्दै उनीहरु आन्दोलित भएका छन् । बिहीवार अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।
अस्पताल प्रशासनले भत्ता वितरण नगरेकाले विरोधमा उत्रनुपरेको डा. उदयनारायण सिंहले बताएका छन् । अस्पतालको लेखा शाखाले मागेको सम्पूर्ण कागजात बुझाइसकेपनि भत्ता वितरण नगरिएको सिंहको गुनासो छ ।
नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड–१९ अस्पतालका संयोजक समेत रहेका डा. सिंहले भने, ‘कोभिड महामारीमा ज्यानको समेत पर्वाह गरिएन । घरपरिवार समेत छाडेर महिनौंसम्म अस्पतालमै काम गरियो तर भत्ताका लागि आन्दोलन गर्नुपरेको छ ।’
डा. सिंहका अनुसार अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी झण्डै ४०० जनाले साउनयताको जोखिम भत्ता पाएका छैनन् । बिहीवार प्रदर्शन गर्दै अस्पताल प्रशासन घेराउ गरिएको अर्का डा. दीपक चौरसियाले बताए । सिंहले अस्पताल प्रशासनले छिट्टै भत्ता रकम वितरण गर्ने आश्वासन दिएको बताए । सिंहले भने, ‘२–४ दिनमा पाएनौं भने अझ सशक्त आन्दोलन गर्छौं ।’
अस्पताल प्रशासनले भने कोभिड महामारीमा नखटिएकाहरुले पनि भत्ता दाबी गरेका कारण समस्या भएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुरले जोखिम भत्ता अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीले माग गरेको बताएका छन् ।
‘त्यसैले जोखिम भत्ताका लागि कोभिडमा काम गर्ने कर्मचारीको ड्युटी प्रमाणित गर्न एउटा समिति बनाएका छौं । समितिले ड्युटी प्रमाणित गरेर दिएलगत्तै नेपाल सरकारको नियमानुसार भत्ता वितरण गरिने छ,’ डा. ठाकुरले भने ।
समितिका सदस्य एवं अस्पताल विकास समितिका सदस्य सन्तोष पासवानले भत्ताको मापदण्डभित्र पर्नेहरुको विषयमा समितिले छानबिन गरिरहेको बताएका छन् । उनका अनुसार कोभिड महामारीमा अस्पतालको आईसीयू, आकस्मिक कक्ष, पीसीआर ल्याब र कोभिड अस्पतालमा प्रत्यक्ष खटेकालाई तलबको शतप्रतिशत भत्ता दिइने छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।