काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मृत्यु हुँदा समेत मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् ।
नेता थापाले उपनिर्वाचनमा नेकपाबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने समेत बताएका छन् ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको शुक्रबार पोखरामा दोस्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले नेकपाको अवसान भएको बताए ।
नेता थापाले हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि कम्युनिस्ट पार्टी मर्दा कोही नबोल्ने गरेको र मलामी जाने मानिस समेत नभएको बताएका छन् ।
मरिसकेका पार्टीका नामबाट निर्वाचित जनप्रतिनिधिलाई अब जनप्रतिनिधि नै मान्न नसकिने समेत थापाले बताए ।
‘पार्टी नै नभएपछि जनप्रतिनिधि कसरी भइन्छ ? कोही एमालेमै फर्किए, कोही माओवादीमा फर्किएका छन् । त्यसैले अब पार्टी नै मरिसकेको छ,’ उनले भने, ‘पार्टी मरेपछि जनप्रतिनिधि रहँदैन, निर्वाचन परिणाम मान्दैनौं भन्नुपर्छ ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी र अयोग्य तथा प्रचण्ड र माधव नेपाललाई लोभीको संज्ञा दिए । ५ वर्षका निम्ति नेकपाले सरकार चलाउने र कांग्रेस प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भए पनि प्रधानमन्त्री ओलीमा अहंकार हुँदा समस्या भएको नेता थापाले बताए ।
‘प्रधानमन्त्री ओलीले ३ वर्षअघि फागुनमा संसदमा विश्वासको मत पाएको दिनबाट करीब १८ सय दिन नेकपाले सरकारमा बस्ने जिम्मा पाएको हो तर नेकपाले आफूलाई सम्हालेर, जिम्मेवारी पूरा गर्नुपर्ने थियो तर अहिले नेकपा नै छैन,’ थापाले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हालत पनि निरीह रहेको थापाले बताएका छन् । प्रधानमन्त्री ओलीको अहंकार निर्माणमा प्रचण्ड र नेपालले दुईतिरबाट साथ दिएको थापाले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।