काठमाडौं – सिरहा जिल्लाको मालपोत कार्यालयमा भएको बम विस्फोटको घटनाको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चा क्रान्तिकारीले लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सहमति गरेपछि नेपाल शान्तिमा प्रवेश गरेको घोषणा गरेका थिए । तर फेरि बम विस्फोट हुन थालेको छ ।
सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते समेत भएका छन् ।
विस्फोटको घटनापश्चात गोइत समूहले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिएको छ ।
गोइत समूहको विज्ञप्तिमा उल्लेख छ, ‘तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा आज २०७७ चैत्र १ गते मध्याह्न करीब १२ बजेर ४७ मिनटमा पेसर कुकर बम कारबाही स्वरूप विस्फोट गराएका छौं । यसरी भ्रष्टाचार (अपराध) जारी नै रहे भन्ने यसभन्दा पनि उच्च स्तरको कारबाही हुनेछ । यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी (अपराधी) नेपाल सरकार र प्रदेश सरकार नै हुनेछ ।’
मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
गम्भीर घाइते भएका ३० वर्षीय दिनेशकुमार भण्डारीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
घटनामा नायव सुब्बा शिवकुमार यादव, लक्ष्मी राणा, लालबाबु विक, बेचनी मगर, फूलकुमार ठाकुर, बद्रीनारायण यादव, भोलाबहादुर मगरको उपचार सिरहाकै स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।