काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवा गर्दै सरकारले ३ बुँदे सहमति गरेको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवको उपस्थितिमा दुवै पक्षको वार्ता टोलीका संयोजकहरू रामबहादुर थापा ‘बादल’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
दुबै पक्षबीच भएको ३ बुँदे सहमतिमा उल्लेख छ, ‘१. दुवै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं, २. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ, ३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ ।’
हस्ताक्षर समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत मन्त्रीहरू समेत उपस्थित भएका छन् । सरकारले गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव नेकपाले प्रकाण्ड र उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो ।
कार्यक्रममा आश्चर्यको दृश्य देखिएको छ । जहाँ सम्बोधन गर्ने वक्ताहरू ओली र विप्लवले एकअर्कालाई नेकपाको अध्यक्ष र महासचिवका रूपमा सम्बोधन गरेका छन् । छुट्टाछुट्टै्र पार्टी हुँदाहुँदै पनि दुवै नेताहरूमध्ये ओली नेकपा अध्यक्ष छन् भने विप्लव नेकपा महासचिव छन् ।
नेपाली राजनीतिक क्षेत्रमा पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने रहर नै देखिन्छ । ऋषि कट्टेलको नाममा ‘नेपाल कम्युनिस्ट पार्टी’ हुँदाहुँदै सत्तारुढ दललाई समेत सोही नाम दिइएपछि सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ । तर कार्यक्रममा उस्तै नाम रहेका नेकपाका अध्यक्ष ओली र महासचिव विप्लव भएको सम्बोधन ओली र विप्लव दुबैले गरेका छन् ।
समारोहमा बोल्दै विप्लवले आफूहरूको महान् आकांक्षा रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै महासचिव विप्लवले नेपाललाई सुन्दर र स्वाधिन देश बनाउने सपना नै आफ्नो आकांक्षा रहेको बताएका हुन् ।
‘हाम्रो महान् आकांक्षा छ । नेपाललाई सुन्दर र स्वाधिन देश बनाउने सपना छ,’ विप्लवले भने, ‘दीर्घशान्ति, स्थिरता र समृद्धिको आकांक्षा छ । समृद्ध जीवनको चाहना योभित्र रहेको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।