काठमाडौं - प्रधानमन्त्री केपी ओलीको रणनीतिक डिजाइनमा बेरिएका नेत्रविक्रम चन्द विप्लवलाई ठूलै धक्का लाग्ने भएको छ । विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध खुला गरेपछि हतियार बुझाउने कि नबुझाउने भन्नेमा विवाद सुरु भएको छ ।
आफूलाई अप्ठेरो परेपछि विप्लव समूहलाई ओलीले प्रतिबन्ध हटाएर शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए । तर, सरकारमा सामेल हुने र हतियार बुझाउने भन्ने विषयले विप्लव समूहभित्र विवाद बढेको छ ।
सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिमा सरकारले लगाएको प्रतिबन्ध हटाउने समेत उल्लेख भएपछि विहिबार साँझ बसेको बैठकले प्रतिबन्ध फुकुवा गरेको हो ।
विप्लवसँग सरकारले गरेको सहमतिमा प्रतिबन्ध हटाउनेदेखि सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयसमेत छन् । प्रतिबन्ध लगाएपछि विप्लवका दुई हजारभन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् ।
सरकारले प्रतिबन्ध लगाएकै अवस्थामा विप्लव समूहले २०७७ मंसिर २३ मा मोरङ मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो। विप्लव समूहले सो हत्याको जिम्मा लिँदै प्रतिकारमा मारिएको स्वीकार गरेपछि विप्लवसहित ४२ जनाविरुद्ध अपहरण र कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो। हातहतियार तथा खरखजानालगायतका मुद्दा उसका नेता तथा कार्यकर्ताहरू जेलमा छन् ।
सो सहमति कार्यान्वयनमा आए उनीहरू रिहा हुनेछन् । अनौपचारिक रूपमा विप्लव समूह सरकारमा समेत सहभागी गराउन दुवै पक्ष सहमत भएको चर्चा छ । ओली सरकारले तीनवटा मन्त्रालय विप्लव नेकपालाई दिने र विप्लवले हतियार बुझाउने सहमतिसमेत भएको चर्चा चलेको छ । सरकारमा सहभागी हुने र हतियार बुझाउनेबारे भने विप्लव समूहमा एकमत देखिन्न ।
विप्लव नेकपाका केन्द्रीय सदस्य मणिक लामाले सरकारलाई हतियार नबुझाउने बताइसकेका छन् । सरकारसँग भएको सहमति केन्द्रीय सदस्यदेखि जिल्ला सेक्रेटरीसम्मका पाँच सय नेता नेता कार्यकर्ताले नमान्ने उनको दाबी छ ।
‘हतियार बुझाउने र सरकारमा सहभागी हुने सहमति हामी मान्दैनौ, यो सहमति सार्वजनिक भएपछि टुंगो लाग्छ,’ उनले भने । हतियारसहित विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ पर्ने गरे पनि समूहसँग कति हतियार छ भन्ने यकिन छैन ।
सरकारले भने माओवादीको सशस्त्र समूहमा संलग्न ठूलो समूह विप्लव समूहमा रहेको र सरकार र माओवादीबिच शान्ति सम्झौता भएर हतियार बुझाउँदा लुकाएका हतियार विप्लव समूहसँग रहेको दाबी गर्दै आएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।