शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

केपी ओलीको मिर्गाैलाले देखाएको अद्भूत चमत्कार !

केपी ओलीको मिर्गाैलाले देखाएको अद्भूत चमत्कार !

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 3.6K
    SHARES

  • केपी ओलीको मिर्गाैलाले देखाएको अद्भूत चमत्कार !

    काठमाडौं – ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन । त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न । भनिन्छ नि ! आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई सबै मिलेर जगाऔं । म पुनः आग्रह गर्छु – मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस् ।’

    मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भिडियो सन्देश जारी गर्दै यस्तो अभिव्यक्ति दिएका थिए ।

    दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय ओली झन् सक्रिय देखिएका छन् । स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित भएका छन् ।

    सामान्यतयाः मानिसको शरीरमा एउटा वा २ वटा मिर्गौला हुन्छ । तर प्रधानमन्त्री ओलीको शरीरमा ४ वटा मिर्गौला छन् ।

    ती मिर्गौलामध्ये एउटा मिर्गौलाले मज्जासँग काम गरिरहेको छ । त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन् । रोग र राजनीतिक संघर्ष झेल्दै आएका उनी फूर्तिला देखिन्छन् ।

    १ वर्षअघि आजकै दिन (फागुन २१) उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । ओलीको शरीरमा गरिएको यो दोस्रो प्रत्यारोपण हो । त्यसको १२ वर्षअघि दुबै मिर्गौलाले काम गर्न छाडेपछि उनले नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

    मुलुककै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो अतिविशिष्ट व्यक्ति थिए । ‘उहाँको अनुहारमा कान्ति फर्किएको छ । मनोबल उच्च देखिन्छ । उर्जा झन् बढेको छ,’ मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्माले भने, ‘उहाँको स्वस्थता देखेर सन्तुष्ट छु । उहाँको दिनचर्या हेर्दा अचम्म लाग्छ ।’

    नियमित औषधि सेवन, सामान्य व्यायाम दिनहुँ गर्ने र स्वस्थकर खानपानमा ध्यान दिएका कारण सक्रिय जीवन बिताउन सफल भएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाह बताउँछिन् ।

    २०३२ सालतिर जेलमा पर्दा उनी अल्सरले थलिएका थिए । २०७६ फागुन ४ गते गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘मेरो पेट ४ पटक चिरिएको छ । केही अंग काटिएको, फालिएको र फेरिएको छ ।’

    रोेगसँग लड्दै आएका उनलाई प्रत्यारोपण गर्नुअघि अचानक एपेन्डिसाइटिस फुट्यो । त्यो शरीरमा फैलिएको थियो । उनी भेन्टिलेटरमा थिए । चिकित्सकहरुका अनुसार उनी बालबाल बाँचेका थिए । ‘एपेन्डिसाइटिस फुटेर गरिएको शल्यक्रिया रिकभर हुनेलगत्तै मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो । विभिन्न खालका स्वास्थ्य चुनौती झेलेर आउनुभएको छ,’ प्रा.डा. शर्माले भने, ‘मिर्गौला प्रत्यारोपणका लागि विदेश जान सक्नुहुन्थ्यो । तर हामी (नेपाली चिकित्सक र स्वदेशको अस्पताल) माथि विश्वास गरेर शिक्षण अस्पतालमा प्रत्यारोपण गर्नुभयो । स्वास्थ्यकर्मीलाई उत्साहित गराउनुभयो । स्वदेशमै प्रत्यारोपण गरेर उदाहरण प्रस्तुत गर्नुभयो ।’

    सानोतिनो स्वास्थ्य समस्या आउनेबित्तिकै विदेश कुदिहाल्ने प्रवृत्ति रहेकामा प्रधानमन्त्री ओलीले स्वदेशमै प्रत्यारोपण गर्दा सकारात्मक सन्देश प्रवाह भएको डा. शर्माले बताएका छन् ।

    दैनिक गतिविधि नियालिरहेकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. शाह भन्छिन्, ‘बिहानपख सामान्य हिँडडुल गर्नुहुन्छ । मिर्गौला प्रत्यारोपणपछि उहाँको स्वास्थ्य अवस्था ठीक छ ।’

    प्रत्यारोपित मिर्गौलाका लागि उनले नियमित औषधि सेवन गर्छन् । त्यसले राम्रोसँग काम गरिरहेको र कुनै संक्रमण नभएको प्रा.डा. शर्मा बताउँछिन् ।

    मिर्गौला फेल हुँदा रक्तचापको समस्या देखापर्ने चिकित्सकहरु बताउँछन् । ओलीलाई अहिले उच्च रक्तचाप (ब्लड प्रेसर) को समस्या समेत नरहेको डा. शाहले जानकारी दिइन् । ‘अहिले रक्तचापको औषधि पनि सेवन गर्नुपरेको छैन,’ उनले भनिन् ।

    प्रधानमन्त्री ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न छाड्दै गएपछि २ विकल्प मात्र बाँकी थिए । डायलाइसिस वा प्रत्यारोपण । ‘डायलाइसिसले विकार वस्तुलाई मात्र बाहिर निकाल्छ,’ डा. शाहले भनिन्, ‘प्रत्यारोपणमा प्राकृतिक मिर्गौला नै राखिने भएकाले काम गर्न सहज हुन्छ । मिर्गौलाले शरीरको विकार तत्व फाल्ने मात्र होइन । रगत बनाउने काम पनि गर्छ । रातो रक्तकणहरु बनाउन पनि मद्दत गर्छ ।’

    त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शाहले सुझाव दिँदै भनिन्, ‘सतर्कता अपनाउनुपर्छ । आराम पनि गर्नुपर्छ ।’
     
    प्रधानमन्त्री केपी शर्मा ओलीले महिनाअघि खेदो खन्नेलाई पेल्ने गरी भनेका थिए, ‘मिर्गौला प्रत्यारोपणपछि मेरा त जुँगा पनि काला हुँदै गएका छन् ।’ अर्थात् आशय थियो, ‘थला पर्छ भन्ने सोच्नुभएको छ भने, नसोच्नुस् ।’

    १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले क्रमशः काम गर्न छाड्दै थियो । स्वास्थ्यमा घच्याकघुचुक समस्या बढिरहेको थियो । त्यही अनुपातमा ओली प्रथम अध्यक्ष रहेको नेकपामा कचरपचर बढ्दो थियो ।

    दलभित्र राजनीतिक घेराबन्दीमा पारिएकै बेला ठीक १ वर्षअघि अर्थात् ०७६ फागुन २१ गते प्रधानमन्त्री ओलीले स्वदेशमै हिम्मतसाथ मिर्गौलाको दोस्रो पत्यारोपण गराए । नेपालमै दोस्रो प्रत्यारोपण हुनेमा धेरैलाई विश्वास थिएन । तर प्रधानमन्त्रीले स्वदेशी अस्पताल र नेपाली डाक्टरमाथि ठूलो भरोसा गरेका थिए ।

    ‘अरु बिरामीलाई डाक्टरले मनोबल बढाउन काउन्सिलिङ गर्नुपर्छ,’ प्रत्यारोपण टोलीमा सरिक एक चिकित्सक सम्झन्छन्, ‘प्रधानमन्त्रीज्यू त हामी डाक्टरलाई पो नडराउनुहोस्, मलाई केही हुँदैन भनेर काउन्सिलिङ गर्नुहुन्थ्यो ।’

    प्रत्यारोपणसँगै उनको स्वास्थ्य अवस्थामा अद्भूत परिवर्तन भयो । राजनीतिमा सक्रिय हुन सक्दैनन् भन्ने आम सोच उल्टो सावित भयो । उनको राजनीतिक सक्रियता मात्र बढेन, धपेडीसमेत बढ्यो । उनको स्वास्थ्य अवस्थामा आएको परिवर्तनसँगै देशको राजनीतिक कोर्समा समेत प्रभाव पर्‍यो ।

    एमालेको अघिल्लो महाधिवेशनताका उनी केही शिथिल र गलेका थिए । ‘बिरामीलाई अध्यक्ष बनाउन हुँदैन’ भन्ने प्रचारबाजी निकै भयो । त्यही अवस्थामा ओलीले अध्यक्ष जिते । त्यसपछि उनकै नेतृत्वमा स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र कांग्रेस मिल्दा पनि एमाले पहिलो पार्टी भएको थियो । संसदीय निर्वाचनमा भने माओवादी केन्द्रसँग सहकार्य र पछि एकीकरण समेत भयो । ओलीको नेतृत्वमा करीब दुईतिहाइको सरकार बन्यो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend