काठमाडौं – विकसित पछिल्लो राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित रहेको छ ।
बिहीवार सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकबाट समेत कांग्रेसले पछिल्लो राजनीतिक वातावरणमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय गर्न नसकेको हो ।
संसद पुनःस्थापनापछि बनेको नयाँ राजनीतिक कोर्समा कांग्रेस नै नयाँ सरकार गठनको प्रक्रियामा निर्णायक हुने देखिएको छ । तर कांग्रेसले विवादको भूमरीमा रहेको नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन ।
सो विषयमा कांग्रेसले छलफल गर्न बिहीवार पदाधिकारी तथा पूर्व पदाधिकारीलाई छलफलमा बोलाएको थियो ।
छलफलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको समूहलाई पार्टीले सहयोग गरेर अघि बढ्ने कि विघटनको विरोधमा खुला रूपमा लाग्ने नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षलाई सहयोग गर्ने भन्नेमा नेताहरू विभाजित देखिएका छन् ।
बैठकमा धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदम अघि बढाउने पक्षलाई साथ दिन नहुने भन्दै पार्टीले प्रतिपक्षमा नै बस्ने गरी निर्णय लिनुपर्ने बताएका थिए । पौडेलले प्रचण्ड–नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा कांग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए ।
तर सभापति देउवाले भने बैठकमा नेताबाट आएका राय सुन्दै स्थिति परिपक्व भएपछि खुल्ने जवाफ दिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठकले कुनै निर्णय नगरेको जानकारी दिएका छन् ।
‘कसरी अघि बढ्ने भन्नेमा छलफल जारी छ, कुनै टुंगोमा पुगिसकेको अवस्था छैन, मूल कुरा असंवैधानिक कदम चाल्ने पक्षलाई सघाउन हुन्न भन्ने हो, पार्टीले बृहत् छलफलबाट यो विषयमा निर्णय गर्नुपर्छ,’ नेता केसीले भने ।
बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई प्रधानमन्त्री पदले ढोका ढक्ढक्याइरहेको भए पनि संयमतापूर्वक झ्यालबाट हेरिरहेको बताए ।
कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न शुक्रवार संसदीय दलको बैठक समेत बोलाएको छ । दलको बैठकमार्फत कांग्रेसले फागुन २३ गते बस्ने संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आधिकारिक निर्णय गर्ने अनुमान छ । आजको राजनीतिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।