काठमाडौं – वार्तामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपालाई फाइदा पुग्ने गरी सरकारले देशभर प्रहरीलाई नयाँ निर्देशन दिएको छ ।
यसअघि सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउँदै नेता कार्यकर्तालाई पक्राउ गर्न निर्देशन दिएको भए पनि वार्ताका क्रममा कसैलाई पनि पक्राउ नगर्न नयाँ निर्देशन दिएको हो ।
सरकारको निर्देशनपछि प्रहरीले वार्ता अवधिभर विप्लव नेकपाका नेता–कार्यकर्तालाई पक्राउ गर्ने छैन । गृह मन्त्रालयको नयाँ निर्देशन आएकाले प्रहरीले नेता–कार्यकर्ता पक्राउ नगर्ने जनाएको छ ।
हिजो बुधबारदेखि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा नेतृत्वको टोलीबीच वार्ता भइरहेको छ । वार्तापछि गृह मन्त्रालयले दिएको आदेशबारे एक प्रहरी अधिकृतले भने, ‘दुबै पक्षबीच वार्ता जारी रहेकाले पक्राउ नगर्नू भन्ने आदेश छ । अहिले हामी विप्लव नेकपाविरुद्ध कुनै पनि प्रहरी कारवाही गर्दैनौं ।’
विप्लव नेकपामाथि सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेकपाविरुद्ध संयुक्त रुपमा पक्राउ अभियान नै चलाएको थियो ।
अझै पनि कतिपय नेता कार्यकर्ता प्रहरी हिरासत र कारागारमा रहेका छन् । सरकारले विप्लवसँग वार्ता गरेर सरकारमै ल्याउने कोसिस गरिरहेकाले सकारात्मक सन्देश दिन कसैलाई पनि पक्राउ नगर्न निर्देशन दिइएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।