मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

सरकार र विप्लवबीच ‘चमत्कार’ : ४ मन्त्री दिएर सरकारमा ल्याइँदै, चुनावसम्मै गठबन्धन !

सरकार र विप्लवबीच ‘चमत्कार’ : ४ मन्त्री दिएर सरकारमा ल्याइँदै, चुनावसम्मै गठबन्धन !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 8.6K
    SHARES

  • सरकार र विप्लवबीच ‘चमत्कार’ : ४ मन्त्री दिएर सरकारमा ल्याइँदै, चुनावसम्मै गठबन्धन !

    काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ ।

    विप्लव नेतृत्वको नेकपासँग बुधवार २ चरणमा भएको वार्तापछि सरकारले सहमतिको तयारी गरेको हो ।

    images
    images

    बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव नेतृत्वको नेकपाले सरकारी टोलीसँग पहिलो चरणको वार्ता गरेको छ । अपराह्न दोस्रो चरणको वार्ता भएको हो ।

    सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कुराकानी सकारात्मक चरणमा पुगेको बताएका छन् ।

    यसअघि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुखद परिणाम आउने अपेक्षा गरेका थिए । ‘सरकार र विप्लव समूहबीच धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक रहेको छ । केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ,’ उनले भने ।

    वार्ताका लागि बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरु खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भएको थियो । वार्तापछि दुबै पक्ष उत्साही भएका छन् । वार्तामा विप्लव नेकपाको टोलीले पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र थुनामा रहेका नेताकार्यकर्तालाई रिहा गर्न राखेको शर्तमा सरकारी पक्षले सहमति जनाएको छ ।

    शर्तमा सहमति जनाएको सरकारी पक्षले उनीहरुसँग रहेका हतियार बुझाउन भनेको छ । वार्तामा बसेका विप्लव नेकपाका प्रतिनिधिहरुले भने आफूहरुसँग कुनै पनि प्रकारका हतियार नभएको बताएका थिए । सरकारी पक्षले विप्लव नेकपासँग हतियार भएको आशंका गर्दै आएको छ ।

    सुरक्षा अधिकारीहरुले पनि विप्लव नेकपासँग हतियार रहेको जनाउँदै आएका छन् । ‘सरकारले हामीसँग हतियार माग्यो । हामीले हामीसँग हतियार छैन भन्यौं,’ विप्लव नेतृत्वको नेकपा सम्बद्ध स्रोतले भन्यो ।

    मकवानपुरको बाटो हुँदै मंगलवार काठमाडौं आएको विप्लव नेकपाको वार्ता टोलीका सदस्यलाई पूर्व माओवादी सेनाका कमान्डर नेपबहादुर कुँवरले गृहमन्त्री बादलसँग सम्पर्क गराएका थिए । यसअघि गृहमन्त्रीकै सम्पर्क सूत्रको रूपमा काम गरिरहेका कुँवरले वार्ताको वातावरण बनाएका हुन् ।

    मंगलवार बिहानदेखि नै सरकारी वार्ताटोलीसँग अप्रत्यक्ष सम्पर्कमा रहेका विप्लव समूहका प्रतिनिधिले सोही दिनको साँझ वार्ता गर्न चाहन्थे तर सरकारी पक्षले थुनामा रहेका विप्लवका नेताकार्यकर्तामाथि लागेको आरोप र उनीहरुलाई छाड्नुपर्दा पूरा गर्नुपर्ने प्रक्रियाबारे महान्यायाधिवक्तासँग सल्लाह गर्नुपर्ने भएपछि वार्ता बुधवारका लागि सारिएको थियो । महान्यायाधिवक्ता अग्नि खरेलले पक्राउ परेका विप्लव नेकपाका नेता कार्यकर्तालाई छाड्ने निर्देशिका तयार पारेको स्रोतले दाबी गरेको छ ।  

    वार्तामा ओली नेतृत्वको सरकारसँग विप्लव नेकपाले ठूलो लाभ लिने चाहना नराखेको भए पनि सरकारले भने उसलाई मूलधारमा ल्याएर सरकारमा समेत सहभागी गराउने ‘पासा’ फ्याँकेको छ । ‘केपी ओली नै प्रधानमन्त्री भइरहे विप्लव समूह सरकारमा आउने छ । उसलाई एउटा महत्त्वपूर्ण मन्त्रालय र अन्य ३ मन्त्रालय दिने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीसँग यस्तो प्रस्ताव गरेका हुन् र ओलीले सहमति जनाएका छन्,’ उच्च स्रोतले भन्यो ।

    स्रोतका अनुसार विप्लवका शर्त पूरा भए उसका सबै नेता कार्यकर्ता खुला राजनीतिमा आउने छन् । त्यसक्रममा विप्लव समूह सरकारमा सहभागी हुनेछ । विप्लव समूह सरकारमै भएका बेला संघीय संसद्को निर्वाचन भए त्यसमा सहकार्य हुने समेत बताइएको छ ।  

    सरकारले वार्तालाई चमत्कारका रूपमा लिएको छ । ‘१–२ दिनमा चमत्कार हुनेछ,’ सरकारी वार्ता टोलीका एक सदस्य भने, ‘अहिले कसैले पनि नसोचेको काम हुन्छ ।’ कस्तो चमत्कार भन्ने खुलेको छैन । तत्कालीन विद्रोही माओवादी सरकारसँगको वार्ता सफल भएपछि तत्कालीन समयमा पुनःस्थापित संसदमा सहभागी भएको थियो ।

    ‘अहिले विप्लव समूह पनि राज्यको कुनै न कुनै निकायमा आफ्नो उपस्थिति देखाउन चाहन्छ । ओली सरकारले यो समूहलाई राज्य सञ्चालन प्रक्रियामै ल्याउने तयारी गरेको छ,’ ओली निकट एक नेताले भनेका छन् ।  

    वार्ताभन्दा पनि विप्लव नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्नेतर्फ ध्यान केन्द्रित गरेको सरकारले एकाएक वार्ता टोली बनाएर एकैदिन २ चरणमा वार्ता गरेको छ । सरकारले वार्ता टोली गठन गरेलगत्तै विप्लव नेकपाले पनि वार्ता टोली सार्वजनिक गरेको थियो । दुबै पक्ष इमान्दार भए वार्ता सफल हुने बताइएको छ । तर थुनामा रहेका नेता कार्यकर्तालाई रिहा गरेपछि विप्लव नेकपा वार्ता छाडेर भाग्न सक्नेतर्फ सरकारी पक्ष संशकित छ ।

    विप्लव समूह पनि सरकारले थप धरपकड गर्न सक्ने खतरातर्फ सचेत छ । अहिले विप्लव नेकपाका १३४ जना नेता कार्यकर्ता जेलमा छन् । सरकारले उनीहरुलाई विस्फोट, कर्तव्य ज्यान, अपहरण, चन्दा आतंक जस्ता अभियोगमा जेल सरुवा गर्दै थुनामा राखेको छ । २०७५ फागुनमा एनसेलको केन्द्रीय कार्यालय र उसका देशभरका टावरमाथिको विस्फोट गराएपछि सोही महिनाको २८ गते सरकारले विप्लव नेकपालाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको थियो । पूर्व माओवादी केन्द्रबाट बाहिरिएको विप्लव नेकपा एकीकृत जनक्रान्तिको नारा अघि सारेर भूमिगत छ ।  

    २०७५ भदौमा सरकारले विप्लवसँग वार्ता गर्न संघीय संसद्का सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाएको थियो । समितिले विप्लव समूहका नेतासँग वार्ता प्रक्रिया अघि बढाएको दाबी गरे पनि यथार्थमा वार्ता नभई समिति भंग भएको थियो । पाण्डे समितिले वार्ताका लागि आग्रह गर्दा विप्लव समूहले केका लागि वार्ता भन्ने सरकारी धारणा स्पष्ट नभएको भन्दै त्यसको औचित्यमाथि प्रश्न गरेको थियो ।

    त्यतिबेला सरकारले औपचारिक पत्र समेत पठाएको थिएन । तर अनौपचारिक वार्ता भएको भन्दै सरकारले त्यतिबेला विश्वकर्मालाई थुनामुक्त गरेको थियो । उनी अहिले विप्लवको वार्ता समितिका संयोजक छन् ।

    त्यतिबेला विश्वकर्मा रिहा भएपछि विप्लव समूह वार्तामा बसेन । अहिले भने दुबै पक्षले ३ बुँदे सहमति गरेर वार्तामा बसेकाले सार्थक हुने अपेक्षा गरिएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology