मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

वार्ता हुनुअघि नै बादल र विप्लवबीच भएको त्यो ३ बुँदे गोप्य सहमतिको रहस्य खुल्यो

वार्ता हुनुअघि नै बादल र विप्लवबीच भएको त्यो ३ बुँदे गोप्य सहमतिको रहस्य खुल्यो

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १९ २०७७

  • 5.3K
    SHARES

  • वार्ता हुनुअघि नै बादल र विप्लवबीच भएको त्यो ३ बुँदे गोप्य सहमतिको रहस्य खुल्यो

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे आन्तरिक सहमतिसँगै औपचारिक वार्ता सुरू हुँदैछ ।

    दुबै पक्षले मंगलवार आ–आफ्ना तर्फबाट २–२ सदस्यीय वार्ता टोली गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको छ ।

    images
    images

    सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी वार्ता टोली गठन गरिएको सार्वजनिक गरेका छन् । त्यसको १ घण्टापछि विप्लब पक्षले पनि वार्ता टोली गठन गरिएको वक्तव्य निकालेको थियो । 

    विप्लव समूहले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको छ । 

    विप्लबको वार्ता टोलीका नेता सोमवार साँझै काठमाडौं भित्रिएका छन् । नेताहरुले मंगलवार साँझ टेलिफोनमार्फत् सरकारी टोलीसँग अनौपचारिक संवाद गरेका छन् । दुबै पक्षबीच बुधवार औपचारिक वार्ता गर्ने तयारी गरेको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो समय समस्याको समाधान वार्ताबाटै गर्न दुबै पक्ष तयार देखिएका थिए । वार्ताका लागि विभिन्न सूत्रमार्फत अनौपचारिक संवादको प्रक्रिया अगाडि बढेको थियो । तर विभिन्न नेताले गरिरहेका अनौपचारिक संवाद कामयावी हुन नसकिरहेका बेला गृहमन्त्री थापाले परिचालन गरेको सूत्रमार्फत पहल भएपछि वार्ताको वातावरण बनेको छ ।

    गृहमन्त्री थापाले तत्कालीन माओवादी जनमुक्ति सेनाका डिभिजन सहकमान्डर नेपबहादुर कुँवर ‘विवेक’लाई परिचालन गरेका थिए । 

    नेता कुँवर नेकपा विभाजन नहुँदै गृहमन्त्री थापाको निर्देशनमा वार्ताको वातावरण बनाउन लागेका थिए । कुँवरले चलाउने लगायत नेतासँग सम्पर्क बढाई दुबै पक्षका कुरादेखि पत्र आदान–प्रदानको काम गरेका थिए । त्यसपछि दुबै पक्षबीच ३ बुँदे सहमति लिखित रुपमा भएको स्रोतको भनाइ छ । तर सहमति गोप्य राख्ने गरी दुवै पक्षले हस्ताक्षर गरेपछि वार्ता टोलीको घोषणा गरिएको छ । त्यसमा विप्लवको पार्टीबाट विप्लब स्वयंले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री थापाले हस्ताक्षर गरेका छन् ।

    असोज ३ गतेअघि नै वार्ताको पहल भएको थियो । त्यसबेला संविधान दिवसमा प्रधानमन्त्रीले गर्ने सम्बोधनमा विप्लब पक्षका विषयमा सकारात्मक रुपमा बोल्ने र वार्ताको विश्वासिलो वातावरण बनाउने समझदारी जुटेको थियो । तर प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा असन्तुष्ट पक्षले पनि संविधानभित्र आउनुपर्ने कुरा बोलेका थिए । त्यसमा विप्लब समूह सन्तुष्ट हुन सकेको थिएन ।

    कुँवर नेकपा विभाजनपछि खुलेर कतै लागेका छैनन् । उनी एकीकृत पार्टी छँदाका केन्द्रीय सदस्य हुन् । पार्टी विभाजनपछि पनि मन्त्री थापाले जिम्मेवारी अनुसारको काम अगाडि बढाउन आग्रह गरेपछि कुँवरले थप प्रयास जारी राखेका थिए ।

    विप्लब र चलाउनेसँग उनको राम्रो सम्बन्ध थियो । सरकारका तर्फबाट वार्ता टोली घोषणापछि मंगलवार कुँवरले सिंहदरबार पुगेर थापालाई भेट गरेका थिए । 

    प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दुबै पक्ष अनौपचारिक छलफलमा थिए । ‘प्रतिनिधिसभा पुनर्स्थापना भयो भने पनि प्रचण्ड–नेपालले वार्ता गर्ने भनिसकेका छन्, उनीहरुले गरिहाल्छन्, हामीलाई अपजस मात्र हुन्छ भन्ने प्रधानमन्त्रीमा देखिन्थ्यो । पुनर्स्थापना भएन र चुनावमा जानुपर्‍यो भने विप्लवसँग, प्रचण्ड, माधव नेपाल र देउवा कोकोसँग लड्ने भन्नेमा ओली थिए । त्यसो हुँदा प्रधानमन्त्रीले हामीसँग वार्ता गरेर एउटा पक्षलाई तटस्थ राखेर लडाइँलाई एकातिर सोझ्याउन खोज्नुभएको अवस्थामा सघन छलफल हामी २ पक्षका बीचमा सुरू भएको थियो,’ विप्लवका एक नेताले टेलिफोनमा भने, ‘हामीलाई पनि जसरी भए पनि प्रतिबन्ध फुकुवा गरेर वार्तामा आउनु थियो, दुबैको आआफ्नो बुझाइअनुसार नै अहिले वार्ताको वातावरण बनेको हो ।’

    प्रधानमन्त्रीले पार्टी विभाजनपछि आफ्नो अप्ठ्यारो टार्न र अर्काे खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साइजमा ल्याउन भए पनि विप्लवसँग वार्ता चाहेका थिए । त्यसपछि नै गृहमन्त्री थापाले त्यो जिम्मा पाएका थिए । गृहमन्त्री थापाले आफूजस्तै स्वभाव भएका तर विप्लव र उनका नेताहरूसँग राम्रो सम्पर्क सम्बन्धमै रहेका विश्वासिला नेता कुँवरलाई परिचालन गरेका थिए । कुँवरले आफूजस्तै सैन्य क्षेत्रमै काम गरेका विप्लवका नेता चलाउनेसँग सरकारका कुरा पुर्‍याउने र विप्लवका कुरा ल्याउने गरी सम्पर्क सूत्रका रुपमा काम गरे । सरकारले वार्ताअघि शान्तिपूर्ण र वैधानिक राजनीतिमा आउने प्रतिबद्धता विप्लवको पक्षबाट खोजेको थियो । त्यसपछि नै औपचारिक वार्ता अगाडि लिखित रुपमा आन्तरिक सहमति गर्ने समझदारी बनेको ती नेताले बताएका छन् ।

    तिनै कुँवरमार्फत ३ बुँदे सहमति पत्रका लागि पत्र आदानप्रदान भएपछि फागुन ८ गते विप्लवले जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको वक्तव्य सार्वजनिक गरेका थिए ।

    दुबै पक्षबीच आदानप्रदान भएको तीनबुँदे गोप्य सहमति पत्रमा विप्लवले सहमति जनाएपछि मात्रै वक्तव्य आएको हो । तर त्यही बीचमा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले गरेपछि केही दिन लम्बिएको थियो । आन्तरिक रुपमा गोप्य राख्ने गरी भएको ३ बुँदे सहमतिमा दुबै पक्षका नेताहरूले हस्ताक्षर गरेका छन् ।

    त्यसपछि दुबै पक्षले वार्ता टोली गठन गरेका हुन् । वार्ता टोली गठन गर्दा विप्लबको केन्द्रीय समिति बैठक बसेको थियो । 

    सरकारको तर्फबाट भने गृहमन्त्री थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमध्ये एकको नाममा वार्ता टोली बनाउने छलफल चलेको थियो । मध्यस्थकर्ता कुँवरलाई पनि सरकारको तर्फबाट वार्ता टोलीमा राख्ने कि भन्ने छलफल समेत भएको थियो । तर मंगलवार बिहान मात्र गृहमन्त्रीकै नेतृत्वमा टोली बनाउने र त्यसमा उनलाई नलगेर भट्टराईलाई लैजाने गरी वार्ता टोली बनाउन प्रधानमन्त्री तयार भएका छन् ।

    ओली वार्ता टोलीको टुंगो लगाएर मात्र गृहजिल्ला झापा पुगेका थिए । त्यसलगत्तै सम्पर्क सूत्रमार्फत नै बिहान १० बजे नै विप्लबका नेताहरूलाई सरकारले गृहमन्त्री थापा र भट्टराई रहेको वार्ता टोली गठन भएको सन्देश पुर्‍याइएको थियो ।

    वार्ता टोली गठनअघि ‘नेपाल सरकार र नेकपाबीच भएको सहमतिपत्र’ शीर्षकमा ३ बुँदे सहमति भएको थियो । जसको पहिलो बुँदामा शान्तिपूर्ण र वैधानिक आन्दोलन गर्न विप्लवको पार्टी सहमत भएको छ भनी उल्लेख छ । दोस्रो बुँदामा नेपाल सरकारको तर्फबाट नेकपाका राजनीतिक बन्दीहरु रिहा गर्न, मुद्दाहरु खारेज गर्न र प्रतिबन्ध खारेज गर्न सहमत भएका छौं भन्ने उल्लेख छ । तेस्रो बुँदा भने दुबै पक्षलाई हुने गरी राखिएको छ । त्यो बुँदा दुबै पक्षले खुलाउन चाहेका छैनन् ।

    ‘त्यो बुँदा राजनीतिक छन् । त्यो अहिले सार्वजनिक हुँदैनन्,’ विप्लवका एक नेताले भने, ‘त्यसैलाई टेकेर वार्ता टोली गठन भएको छ । अब वार्ता टोलीले औपचारिक वार्ता थालेर प्रतिबन्ध फुकुवा लगायतका काम हुनेछन् ।’

    सत्ता साझेदारी या अन्य कुनै विषय त्यो बुँदामा हुन सक्ने आशंका पनि गरिएको छ । तर राष्ट्रियता, जनतन्त्र र जनजीविकाबारे राज्यका आफ्ना धारणा के हो ? विद्रोहीका यसमा के धारणा हुन् भनेर तलसम्म जाने वातावरण निर्माण गर्ने कुरा त्यो बुँदामा उल्लेख रहेको विप्लव नेतृत्वका अर्का एक नेताले बताएका छन् ।

    सञ्चारमन्त्री पार्वत गुरुङले भने वार्तामा बसेपछि मात्र सबै विषय छलफलमा आउने बताएका छन् । ‘वार्तामा बसेपछि अब प्रतिबन्ध, मुद्दा र हतियार लगायतका विषयमा छलफल हुन्छन्,’ उनले भने । विप्लवले भने वार्ता टोली गठन गरेको घोषणा गर्दा सरकारसँग देशको राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न सहमत भएको बताएका थिए ।

    वार्तामा विप्लबले ३ सूत्रीय एजेन्डा उठाउने तयारी गरेको छ । प्रतिबन्ध फुकुवा, बन्दी रिहाइ लगायतका विषय अगाडि बढेसँगै बृहत् राजनीतिक समीक्षा सभा, संयुक्त सरकार र त्यही सरकारको अगुवाइमा संसदीय व्यवस्था (पुँजीवाद) वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनताको सार्वभौम जनमतबाट निरुपण गर्नुपर्ने गरी जनमत संग्रहको एजेन्डा उठाउने तयारी विप्लवको पार्टीले गरेको छ ।

    तर जनमत संग्रहका विषयमा रणनीतिक मोर्चामा आबद्ध दलहरुसँग पनि छलफल गर्ने विप्लवको पार्टी नेताको भनाइ छ । ‘हाम्रो आफ्नै पार्टीभित्र पनि छलफल छ । रणनीतिक संयुक्त मोर्चामा पनि छलफल गर्नुपर्छ। विधिमा अहिले किन प्रवेश गर्ने भन्ने भएर त्यसमा हामीले अलिक भेगवाला शब्द प्रयोग गरेको हो,’ ती नेताले भने ।

    दुबै वार्ता टोलीको नेतृत्वकर्ता ५ वर्षअघिसम्म एकै पार्टीमा थिए । यसले पनि यो वार्तालाई रोचक मोडका साथ हेरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology