काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘सुरक्षा थ्रेट’ भएको अभिव्यक्ति दोहोर्याउँदै आएका छन् ।
ओलीले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ ।
२०० भन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ ।
प्रधानमन्त्री ओलीले सोमवार आफूमाथि शारीरिक हमला हुनसक्ने बताए । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली पक्षका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार हुँदै आएको भन्दै शारीरिक हमला हुनसक्ने दाबी गरेका हुन् ।
नेपाली सेनाको हेलिकोप्टर र यती एयरलाइन्सको विमान चार्टर गरेर कार्यकर्ता भेलामा हिँडिरहेका ओलीले व्यक्तिगत रुपमा शारीरिक हमला हुनसक्ने बताएका हुन् ।
‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ ओलीले गण्डकी प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने ।
त्यसक्रममा उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार हुन नदिन कार्यकर्तालाई अपिल गरेका छन् । ‘म रहिनँ भने पनि केही छैन, पार्टी छ, आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनु हुँदैन,’ उनले भने ।
मुलुकको कार्यकारी प्रमुखका लागि राज्यले पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको हुन्छ । तर पनि ओलीले आफूलाई सुरक्षा भ्रेट भएको बताइरहन्छन् । नेकपा एक हुँदा एकपटक धुम्बाराहीमा भएको स्थायी कमिटी बैठकमा उनी सुरक्षा थे्रट भएको भन्दै सहभागी भएनन् ।
गत मंसिर १६ गते भएको स्थायी कमिटी बैठकमा उनी सहभागी नभएका हुन् । सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालयमा सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले जान अस्वीकार गरेका थिए ।
त्यसअघि गत असार १४ गते मदन भण्डारीको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देशीविदेशी शक्तिहरुले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको र सुरक्षा थ्रेट भएको बताएका थिए । यसपछि पनि उनको सुरक्षामा कति सुरक्षाकर्मी खटिएका छन् र प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भएकै हो त भनेर प्रश्न उठेको थियो । कसले थ्रेट गरेको भनेर ओलीले केही बताएका छैनन् ।
‘राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुन शक्तिबाट थ्रेट भएको हो, त्यो प्रधानमन्त्रीले खुलाउनुपर्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले अहिलेसम्म कुन शक्तिले आफूलाई थ्रेट गरेको हो भन्ने नखुलाई थ्रेट छ मात्रै भनेर कार्यकर्ताको मन जित्न खोजेको संकेत हुँदैछ ।’
नेपालमा सशस्त्र प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी नुडुप श्रेष्ठलाई तत्कालीन माओवादीले हत्या गरेको थियो । उनीहरु बिहानीपख हिँडिरहेका बेला निशस्त्र रहेको अवस्थामा मात्रै हत्या भएको थियो । तर प्रधानमन्त्री ओली अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई पनि वार्तामा ल्याउन चाहिरहेका छन् ।
भारतीय गुप्तचर निकाय (रअ) प्रमुख सामन्तकुमार गोयल नै बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटघाट गरेको पनि धेरै समय भएको छैन । तैपनि प्रधानमन्त्री ओलीले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै अभिव्यक्ति दिइरहेका छन्, यसका पछाडिको कारण के हो भनेर प्रश्न उठाउन थालिएको छ ।
गृह मन्त्रालयले जारी गरेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार प्रधानमन्त्रीको सुरक्षामा सेनाका १७५, सशस्त्रका २८, नेपाल प्रहरीका ८२ र राष्ट्रिय अनुसन्धानका १० जना हुनुपर्नेमा प्रहरीका डीएसपीको कमान्डमा १०० जना र सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा ४५ जना खटिएका छन् । अहिले नेपाल प्रहरीको कमान्ड डिएसपी राजन लिम्बूले गरिरहेका छन् ।
नेपाल प्रहरीको उच्च स्रोतका अनुसार उनलाई कुनै पनि प्रकारको सुरक्षा थ्रेट छैन । ‘हामीले सबै प्रकारको सुरक्षा व्यवस्था गरेका छौं । नेपाली सेनाको प्रतिनिधि हुन्छ, सुरक्षाकर्मीहरु हुन्छन्, सशस्त्र पनि उत्तिकै खटिएको हुन्छ । त्यसकारण यो राजनीतिक रुपमा गरिएको फन्डा मात्रै हो,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले राजनीतिक चालबाजी मात्रै गरेका हुन् ।’
ओलीले राजनीतिक रुपमा अप्ठ्यारो परेका बेला आफूमाथि शारीरिक हमला हुनसक्ने बताउँदै आएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।