काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक, गौरादह र कमल गाउँपालिका क्षेत्रमा बन्ने भनिएको चीन–नेपाल औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्डशीप इन्डस्ट्रियल पार्क) शिलान्यास तयारी तीब्र रूपमा हुँदैछ ।
फागुन १६ गते प्रधानमन्त्री ओलीले व्यापक चर्चा र विवादित औद्योगिक पार्कको शिलान्यास गर्ने तयारी गरेका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकका कार्यालय प्रमुख सञ्जय थापाका तर्फबाट प्रस्तावित औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले झापाको दमकस्थित होटल कामाक्षामा सरोकारवाला पालिकाका वडाध्यक्ष गौरादह नगरपालिका–५ का वडाध्यक्ष क्षेत्रपति सुवेदीका साथै पत्रकारहरूलाई सामूहिक रूपमा शिलान्यास कार्यक्रमबारे जानकारी दिएका छन् ।
औद्योगिक पार्कको नामले परिचित प्रस्तावित परियोजना जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासको फरक मोडेल भएकाले जनतालाई रोजगारीको अवसर दिलाएर सरकार पक्षलाई आर्थिक रूपमा समृद्ध बनाउने मेरुदण्ड हुने अध्यक्ष थापाले दाबी गरे ।
तर परियोजनाका लागि लिइएको जग्गाबापत मुआब्जा नदिएपछि विवाद कायमै छ । विवाद कायमै रहेका बेला शिलान्यास गर्नु जनताको हित विपरीत हुने विश्लेषण स्थानीयको रहेको छ । तर चीनलाई खुसी पार्न ओली परियोजना शिलान्यासको तयारीमा तम्सिएका छन् ।
परियोजना अन्तर्गत पहिलो चरणमा २६ वटा उद्योगहरू स्थापित हुने र यसको उत्पादनले विश्व बजारमा प्रवेश गर्ने साथै नेपाली बजारको मागलाई पनि पूरा गर्ने औद्योगिक ग्राम हुने समेत अध्यक्ष थापाले दाबी गरेका छन् ।
जनस्तरमा विवादबीच प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने तयारी भएको परियोजना २ हजार २०० बिघा क्षेत्रफलमा फैलिने र हाल १ हजार ३०० बिगाहा जमिन एकीकृत गरिसकिएको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।