काठमाडौं – गोरखाको पालुङटारमा ३ वर्षअघि वाम गठबन्धनको चुनावी सभामा तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई कटाक्ष गर्दै भनेका थिए, ‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् । मंसिर १० र २१ गते बुढो रूख ढल्छ । वामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ ।’
त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार थियो । ओलीले कांग्रेस सत्तामा फर्किन कम्तीमा ५० वर्ष लाग्ने बताएका थिए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम ओलीले दाबी गरेजस्तै आयो । वाम गठबन्धनले झण्डै दुईतिहाइ सिट जित्यो । ओली प्रधानमन्त्री बने । त्यससँगै कांग्रेसले सत्तामा फर्किन केही समय पर्खिनुपर्ने धेरैको आकलन थियो । तर वाम गठबन्धनपछि बनेको नेकपा ३ वर्ष नपुग्दै विभाजन भएको छ ।
नेकपाका दुवै पक्षले कांग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव गरेका छन् । तर कांग्रेस तत्काल कसैतिर नखुल्ने नीतिमा देखिएको छ ।
प्रधानमन्त्रीका लागि प्रस्ताव आए पनि आफूले कसैलाई जवाफ नदिएको कांग्रेस सभापति देउवाले बताएका छन् । सभापति देउवाले बिहीवार बिहान आफूनिकट शीर्ष नेताहरुलाई बोलाएर नेकपाका दुबै समूहका प्रस्ताव सुनाए ।
‘मलाई ओली र प्रचण्ड–नेपाल पक्षले भेटेर र विभिन्न माध्यमबाट सत्ता सहकार्यका लागि प्रस्ताव पठाएका छने,’ देउवाले भने, ‘सिधै भन्नुपर्दा तपाईं नै प्रधानमन्त्री बन्नुहुन्छ । मिलेर जाऔं भनेर दुवै समूहले भनेका छन् । तर मैले कसैलाई जवाफ दिएको छैन ।’
देउवाले नेकपा विभाजन भइनसकेकाले कुनै पनि पक्षलाई साथ दिन नसक्ने बताउँदै आएका थिए । ‘आजको छलफलमा पनि उहाँले त्यही कुरा भन्नुभयो । नेकपा विभाजन नभई कांग्रेसले अहिले नै यो/त्यो पक्षलाई सहयोग गर्छु भन्नुहुँदैन,’ देउवाको भनाइ उद्धृत गर्दै नेता एनपी साउँदले भने, ‘तत्काल हामी तटस्थ रहन्छौं । हामी कसैसँग मिलेर जाने भन्ने हुँदैन ।’
कांग्रेसका शीर्ष नेता सहितको पदाधिकारी बैठकले संसद्मा नेकपाका दुबै समूह कसरी अगाडि बढ्छन्, त्यहीअनुसार निर्णय लिने निष्कर्ष निकालेको छ । बिहीवार दिउँसो सभापति देउवा निवास बुढानीलकण्ठमा कांग्रेसको बैठक बसेको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया सुरू भएपछि नेकपाको कदम हेरेर कांग्रेसले आवश्यक निर्णय लिने बताएका छन् । ‘अहिले कांग्रेसको भूमिका केही छैन । पहिले प्रक्रिया अगाडि बढोस्, उहाँहरू (नेकपा) कसरी आउनुहुन्छ, त्यहीअनुसार हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौं,’ बैठकपछि नेता पौडेलले भने ।
बैठकमा सहभागी सबै नेताले तत्काल कांग्रेस तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस नेताहरूको निष्कर्ष छ, ‘नेकपाका दुवै समूह कसरी अगाडि बढ्छन्, त्यहीअनुसार त्यतिबेला मात्रै कांग्रेसले आवश्यक निर्णय लिनुपर्छ ।’
सहमहामन्त्री डा. प्रकाशशरण महतले भाबी सत्ता समीकरणबारे अहिले नै कांग्रेसले पक्षविपक्ष लिने बेला नभएको बताएका छन् । ‘सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसले अहिले नै यस्तो गर्ने उस्तो गर्ने भन्ने स्थिति आइसकेको छैन । संसद् बैठक बसोस् । परिस्थिति कसरी अगाडि बढ्छ, त्यो हेरेर कांग्रेले आवश्यक निर्णय लिन्छ,’ पदाधिकारी बैठकको निष्कर्ष सुनाउँदै महतले भने, ‘कांग्रेसले यसलाई समर्थन गर्ने/नगर्ने भन्ने अवस्था अहिलेको होइन । यही नै कांग्रेसको सर्वसम्मत निर्णय हो । यसमा कांग्रेसमा फरक मत छैन ।’
नेकपा कानूनी रुपमा विभाजन भए संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत पनि कांग्रेसले गुमाउने छ । कांग्रेस तेस्रो दल बन्ने छ । तर दोस्रोबाट तेस्रो दल बने पनि कांग्रेस यतिबेला राजनीतिको केन्द्रमा छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि भावी सत्ता समीकरणको रस्साकस्सी सुरू भइसकेको छ ।
नेकपा विभाजन नभएसम्म तटस्थ बस्ने नीति कांग्रेसले लिएको छ । सर्वाेच्चले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलासँगै १३ दिनभित्र अधिवेशन आह्वान गर्न सरकारलाई निर्देशन दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।