काठमाडौं – चितवनमा बुधवार आयोजित सभा छाडेर नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल हानिँदै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे ।
देउवासँग भेटको चाँजोपाँचो उनीहरूले चितवनबाटै मिलाएका थिए । प्रचण्ड र नेपालले महत्वका साथ देउवालाई भेट्नुका पछाडि भावी सत्ता समीकरणका लागि संसदीय गणित मुख्य कारण थियो ।
नेकपा औपचारिक रुपमै विभाजित भए सत्ता समीकरणका लागि कांग्रेस निर्णायक शक्ति हुने देखिन्छ । सभामुखसहित नेकपासँग रहेका १७३ सांसदमध्ये ओली पक्षमा भन्दा प्रचण्ड–नेपाल पक्षसँग करीब एक दर्जन बढी छन् । नेकपाको यही अंकगणित कायम रहे सरकार बनाउन १३८ सांसद पुर्याउन प्रचण्ड–नेपाल पक्षलाई कांग्रेसकै साथ चाहिन्छ ।
कांग्रेसको साथ पाए ओलीले पनि आफूअनुकूल गठबन्धन बनाउने सम्भावना छ । ओलीले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर अघि बढ्न सक्ने विश्लेषण कांग्रेस वृत्तमा रहेको छ ।
सांसद आफूतिर तान्न नेकपाका दुबै समूहले सरकार आ–आफ्नो पक्षले बनाउने दाबी अनौपचारिक रुपमा गर्दै आएका छन् । प्रचण्ड–नेपाल पक्षले कांग्रेस सभापतिलाई हतारमा भेट्नुका पछाडि यस्तै मनोविज्ञानले पनि काम गरेको आशंका कांग्रेस नेताको छ ।
बुधवार भएको करीब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने आश्वासन बाहेक प्रचण्ड–नेपालसँग ठोस कुरा गरेनन् । भेटपछि एक सार्वजनिक कार्यक्रममा पुगेका देउवाले भाबी समीकरणका विषयमा प्रष्ट नभएकाले अहिल्यै निर्णय गर्न उपयुक्त नहुने भनाइ राखेका थिए ।
नेकपा विभाजन र एकता कतातिर मोडिन्छ प्रष्ट नभएकाले कांग्रेसले निर्णयका लागि हतार नगर्ने देउवाले बताएका छन् । ‘ओलीजीले संसदमा बहुमत पुर्याउन नसक्ने हो भने छाड्दा राम्रो हुन्छ,’ महेन्द्रनारायण निधिको ९९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा देउवाले भने, ‘तर यसो गर भनेर हामीले भन्ने कुरा चाहिँ होइन ।’
भाबी समीकरण निर्माणमा प्रचण्ड–नेपाल पक्षसामु २ विकल्प देखिन्छन् – प्रचण्ड वा नेपालमध्ये एकले जनता समाजवादी पार्टीसँगको गठबन्धनमा सरकारको नेतृत्व गर्ने वा देउवालाई प्रधानमन्त्री छाडेर कांग्रेससँग गठबन्धन बनाउने ।
पहिलो विकल्पमा जाँदा प्रचण्ड–नेपाल पक्षलाई जनता समाजवादी पार्टीमा हाल कायम ३२ सांसद संख्याले बहुमत पुग्दैन । त्यसका लागि प्रचण्ड–नेपाल पक्षले ओली समूहसँग रहेका २ दर्जनभन्दा बढी सांसद आफूतिर तान्नुपर्ने हुन्छ । यो बाटो चुनौती र जोखिम दुबै भएकाले प्रचण्ड–नेपाल पक्षले कांग्रेस सभापति देउवालाई समयमै ‘इन्गेज’ गराउन खोजेको देखिएको छ ।
अर्कोतिर कांग्रेस र जसपासँगको गठबन्धनमा सहजै सरकार बनाउने विकल्प छ । यो विकल्पमा जाँदा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुपर्ने बाध्यता आउन सक्छ । सभापति देउवाले सरकारमा सहभागी मात्रै हुने विकल्पभन्दा आफैं प्रधानमन्त्री बन्ने बाटो रोज्ने सम्भावना बढी छ ।
प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट बदर हुनुअघि नै ओलीले ‘प्लान बी’ अन्तर्गत सभापति देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेको जानकारी आन्तरिक भेटघाटमै उतिबेलै सुनाएको हो ।
देउवाले विगतदेखि नै ओलीसँगको सहकार्यलाई बढ्ता जोड दिएका छन् । किन ? नेकपाभित्र विभाजन ओलीकै कारणले मात्रै हुन सक्छ भन्ने बुझाइले नै देउवाले प्रचण्ड–नेपालसँग भन्दा ओलीसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएका हुन् । देउवानिकट स्रोतहरुका अनुसार पार्टी विभाजनको बाटो लिने कि नलिने भन्नेमा ओलीले अहिले पनि कांग्रेसको प्रष्ट धारणा बुझ्न चाहिरहेका छन् । देउवाले यसबारेमा छलफल अघि बढाउनकै लागि बिहीवार पदाधिकारी बैठक बोलाइसकेका छन् ।
ओलीलाई ढाडस दिन सके नेकपा वैधानिक रुपमै विभाजन हुन सक्ने बुझाइ देउवानिकट नेताहरुमा छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको लोकप्रिय मत अघिल्लो आमनिर्वाचनको तुलनामा केही प्रतिशत बढी छ । प्रत्यक्षतर्फ कांग्रेसको हार हुनुमा देउवाले तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनलाई मुख्य कारण ठान्दै आएका छन् ।
नेकपा औपचारिक रुपमा विभाजन भए आउने निर्वाचनमा पार्टीलाई बहुमत, नभए पनि ठूलो बनाएर आफ्नो लोकप्रियता बढाउने योजनामा देउवा देखिन्छन् । निर्वाचनपछिको सरकारको नेतृत्वमा जाँदा आफू पनि शक्तिशाली हुने उनको ठम्याइ छ । त्यसैले भाबी समीकरणमा देउवा ओलीतिर ढल्कन सक्ने बुझाइ कांग्रेसका कतिपय नेताले व्यक्त गर्न थालेका छन् ।
त्यस्तो अवस्थामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको भूमिका के हुन्छ भन्ने अर्को महत्वपूर्ण पाटो छ । नेकपालाई विभाजन गराउन पौडेल–सिटौला सहितको पक्षले फरक मत राख्ने वा मौन बसिदिन सक्ने विकल्प पनि देखिन्छ ।
तर वरिष्ठ नेता पौडेल र सिटौला ओलीसँगको गठबन्धन हुने सम्भावना कम देख्छन् । ‘संसदीय प्रक्रियालाई अघि बढाउने र प्रणाली बचाउने मुद्दा मुख्य हो । ओलीसँग गठबन्धन हुने सम्भावना कम देख्छु,’ पौडेलले भने, ‘सैद्धान्तिक रुपमा ओलीसँग मिल्ने कुरा सहज छैन ।’
त्यस्तै भनाइ सिटौलाको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा पार्टीले निर्णय गर्नुपर्छ भनेर दबाब दिइराख्दा सभापति देउवा भने अदालतले निर्णय गर्नुअघि कुनै पनि पक्षमा निर्णय गर्न उपयुक्त नहुने अडान राख्दै आएका थिए । जसका कारण पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक मात्रै भनेर विरोध गरेको थियो ।
असंवैधानिक बाटो सच्याउन पुनर्स्थापना कि निर्वाचन भन्नेमा औपचारिक दृष्टिकोण बनाएको थिएन । सभापति देउवा र उनीपक्षीय नेताहरुले सार्वजनिक रुपमा निर्वाचनको वकालत गर्दै आएका थिए भने पौडेल–सिटौलासहित संस्थापनइतर पक्षीय नेताहरुले प्रतिनिधिसभा पुनर्स्थापनालाई मुद्दा बनाएका थिए ।
पूर्व महामन्त्री सिटौलाले बाध्यतात्मक परिस्थितिमा बाहेक कांग्रेसले सरकारको नेतृत्व लिने वा सरकारमा जाने कुरा नै सोच्न नहुने बताएका छन् । कांग्रेसको समर्थन विना सरकार निर्माण नहुने परिस्थिति बने मात्रै सत्ताको विषयमा छलफल गर्नुपर्ने उनले बताए ।
‘हामीले यतिबेला सरकारको नभएर सैद्धान्तिक नेतृत्व लिनेतर्फ जानुपर्छ । निजी सत्ता स्वार्थका लागि पार्टीले कुनै पनि निर्णय लिनुहुन्न,’ उनले भने, ‘राजनीति दूषित भइरहेका बेला शुद्धीकरण गर्ने अवसर पनि हामीसामु रहेको छ । यसलाई किन उपयोग नगर्ने ?’ कांग्रेस विना सरकार नबन्ने अवस्था आए मात्रै समीकरणसँग जोडिने नत्र प्रतिपक्षमा बस्नुपर्ने उनको भनाइ छ ।
२०७४ सालको निर्वाचनको म्यान्डेट कांग्रेसलाई सत्ताको नेतृत्व गर्ने वा सरकारमा जाने नभएकाले सकेसम्म पार्टी प्रतिपक्षमै बस्नुपर्छ भन्ने मत धेरैमा रहेको छ । संस्थापन पक्षका नेता एनपी साउँदले सरकारको नेतृत्व नपाउने अवस्थामा कांग्रेस सरकार बाहिरै बस्न उपयुक्त हुने बताए ।
नेतृत्व पाउने अवस्था आउँदा तयार हुनुपर्ने उनको भनाइ छ । नेकपाका दुबै पक्षबाट प्रधानमन्त्रीका लागि आउने विकल्पमा कांग्रेस खुला रहेको साउँदको भनाइ छ ।
अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेकपाभित्रको दृश्य प्रष्ट भएपछि मात्रै कांग्रेसले गठबन्धनको विषयमा धारणा बनाउने बताए । नेकपा विभाजन हुने वा नहुने भन्ने प्रस्ट नभएकै बेला कुनै एक पक्षसँग मिलेर समीकरण बनाउने निर्णय कांग्रेसले गरे पार्टी एकीकरणका लागि दबाब पुग्ने साउँदको भनाइ छ । ‘यस्तो समीकरण विकास गर्न खोज्दा एकीकरणका लागि दबाब बढ्छ र नेकपामा एकीकरण प्रक्रिया तीव्र हुन्छ,’ उनले भने, ‘मध्यावधि घोषणापछि नेकपालाई एकीकृत बनाउन विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भएकै हो । त्यो प्रयत्न अहिले पनि जारी हुनुपर्छ । त्यसैकारण कांग्रेसले सामुन्नेका परिदृश्य निर्क्योल नगरी कुनै पनि समीकरणमा समावेश हुने निर्णय गर्नुहुन्न । कथम् यस्तो निर्णय भए पछि पछुताउनुपर्ने हुन्छ ।’
नेपाली कांग्रेस नेता गगन थापाले प्रचण्ड–नेपाल पक्षसँग समीकरण बनाउँदा सत्ता र सिद्धान्त दुबै मिल्ने बताए । ‘ओलीसँग मिल्दा कांग्रेसले सत्ता जित्न सक्ला तर सिद्धान्त जित्दैन,’ थापाले भने, ‘झट्ट हेर्दा कांग्रेस ओलीसँगको गठबन्धनमा जाने सम्भावना कम छ । संविधान समाप्त गर्न खोजेको अभियोग ओलीमाथि छ । यो चानेचुने अभियोग होइन, संविधानमाथि गरेको अपराधको राजनीतिक मूल्य चुकाउनुपर्ने हुन्छ ।’
सिटौलाले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको मूल भावनामा टेकेर कांग्रेसले भूमिका निर्वाह गर्ने बताए । थापाको भनाइको अर्थ सत्ता समीकरणमा जानुपर्ने अवस्थामा पनि सैद्धान्तिक पक्षधरसँगको गठबन्धन नै प्राकृतिक हुने भन्ने हो । उनले नेकपा औपचारिक रुपमा विभाजन नहुँदासम्म ओली वा प्रचण्ड–नेपालसँगको गठबन्धनमा जाने निर्णय गर्नु अपरिपक्व हुनसक्ने बताएका छन् ।
‘अहिले नेकपामा प्रचण्ड–माधव नेपालको पक्षमा बहुमत छ । पार्टी विभाजत भएको छैन । उनीहरुले ह्विप लगाए भने पार्टीका सांसदहरु अनुशासनमा अडिनुपर्ने हुन्छ,’ सिटौलाले भने, ‘कांग्रेसले यस्तो होला र उस्तो होला भनेर अहिल्यै निर्णय लिनु जरुरी छैन । निर्णय लिनुपर्ने बेला कांग्रेस सैद्धान्तिक निष्ठामा अडिन्छ । यसैमा पार्टीको हीत छ । सरकारमा पुग्ने र नेतृत्व लिने कुराले मात्रै पार्टीलाई हित हुँदैन ।’
कांग्रेस नेता शेखर कोइरालाले भने सरकारको नेतृत्व गर्ने नैतिक धरातल सभापति देउवाले गुमाएको तर्क गरे । विराटनगरमा रहेका कोइरालाले बुधवार सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री बन्दिनँ भनेर देउवाले घोषणा गर्नुपर्ने बताए । प्रतिनिधिसभा विघटनविरुद्ध दृढतापूर्वक नउभिएका कारण देउवा जनताका बीच आशंकाको घेरामा रहेको उनले बताए ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएको र गत बैशाखमै ओलीले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको भनेर पार्टीले औपचारिक निर्णय लिइसकेको हुनाले पनि देउवालाई पार्टीबाट आफू अनुकूलको निर्णय गराउन कठिनाइ देखिएको छ । तर ओलीसँगको गठबन्धनमा जाँदा मात्रै नेकपा विभाजित हुने परिदृश्य देखिए विरोधका स्वर मत्थर हुन सम्भावना पनि उत्तिकै छ ।
‘अहिले नेकपाका जुनसुकै नेता पनि कोल्टे फर्कन सक्ने अवस्था छ । ओलीमा बदलाको भावना ज्यादा छ । प्रचण्ड–नेपालमा जीतको दम्भ छ । यस्तो बेला जुन घटकको पक्षमा कांग्रेस प्रस्तुत हुन्छ, त्यतिबेला नेकपाको एकीकरण गर्ने प्रक्रिया सरल हुने देखिन्छ,’ साउँदले भने, ‘ओलीले अविश्वासको प्रस्ताव सामना गर्छन् कि विश्वासको मत लिन्छन् भन्ने कुराले पनि धेरै कुराको अर्थ राख्छ । विश्वासको मत लिँदा नयाँ शिराबाट राजनीतिक सन्तुलनको विकास हुन सक्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।