काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएका छन् ।
बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान ९ बजे डाकिएको छ । यसअघि परिषद्को बैठक कात्तिक ५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । त्यही राति भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयल बालुवाटारमा आएर ओलीसँग भेट गरेका थिए ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्नेछन् । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने गरेको छ ।
परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले मंगलबार बिहान सुरक्षा परिषद्को बैठक डाकिएको बताए । पाण्डेले बैठक नियमित भएकाले कुनै खास एजेन्डा नरहेको बताए ।
सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था रहेको छ । परिषद्को सदस्य सचिव भने रक्षाका सचिव हुने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।