काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले माघ २३ गते काठमाडौंमा आयोजना गरेको जनसभामा कार्यकर्ता लिएर गएको बसको रिजर्भ भाडा भुक्तानी गर्ने विषयमा दोलखामा बबन्डर मच्चिएको छ ।
दोलखाको शैलुङ गाउँपालिकाको सरकारी खाताबाट ओलीका कार्यकर्ता ओसारेको बसभाडा तिर्न प्रमुख प्रशासकीय अधिकृतले नमानेपछि गाउँपालिका अध्यक्षले गाउँपालिका छाडेर जान धम्की दिँदै कार्यालयभित्रै दुर्व्यवहार गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष भरत दुलालले प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद शाहलाई कार्यालयभित्रै हातपात गर्दै गाउँपालिका छाडेर जान धम्की दिएका छन् ।
अध्यक्ष दुलालको धम्की र मानसिक यातनापछि प्रमुख प्रशासकीय अधिकृत शाहले जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेशप्रसाद शिवाकोटीसमक्ष उजुरी दिएका छन् । उजुरीमा शाहले आफूमाथि कार्यालय समयभित्रै अध्यक्षबाट दुर्व्यवहार भएको, मानसिक रूपमा पटक–पटक यातना दिएको र काम गर्ने वातावरण नभएको दाबी गरेका छन् ।
शाहसमक्ष अध्यक्ष दुलालले ओली पक्षको सभामा लगिएका बसको भाडा तिर्न र गाउँपालिकामा आयोजना भएको खेलकुद प्रतियोगिताका रेफ्रीलाई दैनिक ८ हजार रुपैयाँका दरले भत्ता पाउने गरी पेश भएको भुक्तानीको कागजात अगाडि बढाउन दबाब दिएका स्रोतले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत शाहले बसको गाडी भाडा बापतको रकम भुक्तानी गर्न कार्यालयमा चन्दा शीर्षक नभएको र रेफ्रीलाई दैनिक ८ हजार रुपैयाँ भत्ता दिन नियमले नमिल्ने भन्दै अस्वीकार गरेका थिए ।
‘करीब ८० हजार हाराहारीमा बस भाडाको प्रस्ताव र खेलकुद प्रतियोगिताको करीब २ लाख बराबरको बिल भरपाई पेश भएकोमा हाकिम सा’पले १ लाखको बिल नमिलेको भन्दै भुक्तानी दिन आनाकानी गर्नुभयो,’ गाउँपालिकाका एक कर्मचारीले भने, ‘त्यसपछि उहाँहरूबीच द्वन्द्व बढ्दै जाँदा कार्यालय हाताभित्रै धम्कीसहित दुर्व्यवहारसम्मको स्थिति बनेको हो ।’
अध्यक्ष दुलालले आफूलाई पटक–पटक मानसिक दबाब दिँदै आएका कारण आफू सरुवा मागेर जाने मनस्थितिमा रहेको शाहले कर्मचारीलाई बताउने गरेका छन् ।
‘मानसिक यातना र दुर्व्यवहार सहन सकिनँ, त्यसैले हामी सबै कर्मचारीका अभिभावक सीडीओलाई उजुरी दिएको छु,’ शाहले भने ।
गाउँपालिका अध्यक्ष दुलालले आफूले बस भाडा तिर्न भनेर कुनै दबाब र धम्की नदिएको दाबी गरेका छन् । ‘अलिअलि भनाभन भएको हो । तर बस भाडा तिर्न दबाब दिएको होइन,’ दुलालले भने । आफू र वडाध्यक्षहरूसहित गाउँपालिकाका जनप्रतिनिधिले पैसा उठाएर बस रिजर्भ लगेको उनले दाबी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवाकोटीले शाहको उजुरी परेको बताएका छन् । ‘हिजो आएर अध्यक्षले समेत शाहका कारण काम गर्न नसकेको भन्दै मौखिक उजुरी गर्नुभएको छ,’ शिवाकोटीले भने, ‘दुबै पक्षलाई राखेर छलफल गर्ने तयारीमा छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।