काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीका नेता कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओली पक्ष वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष कसमा लाग्ने भनेर अन्योलमा छन् ।
यस्तो अवस्था प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाका सांसदमा समेत देखिएको छ । ओलीले केन्द्रीय कमिटी विस्तार गर्दा केन्द्रीय सदस्य बनाइएका २ सांसदले ओली पक्षमा जान अस्वीकार गरेका थिए ।
ती सांसदले ओली पक्षलाई अस्वीकार गर्दै प्रचण्ड–नेपाल पक्षमा लागेका थिए । तर ती सांसदहरू प्रचण्ड–नेपाल पक्षलाई समेत छाडेर उपाध्यक्ष बामदेव गौतम संयोजक रहेको एकता अभियानमा लागेका छन् ।
झापाबाट निर्वाचित १ नम्बर प्रदेशसभा सांसद गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली उपाध्यक्ष बामदेवको अभियानमा लागेपछि प्रचण्डलाई धक्का लागेको छ । बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन सबैमा अपिल पनि गरेका छन् ।
केन्द्रमा दुई लाइन संघर्ष देखिए पनि पार्टी वैधानिक रूपमा नफुटेका कारण केन्द्रलाई दबाब दिने उद्देश्यले एकताका लागि आह्वान गरेको बुढाथोकीले बताएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै बुढाथोकीले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे थप कुनै निर्णय नभएको बताएका छन् । १ नम्बर प्रदेशमा प्रचण्ड पक्षले ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेको छ । प्रचण्ड पक्षले दर्ता गराएको अविश्वासको प्रस्ताव हस्ताक्षर गरेका बुढाथोकी भने अब प्रचण्ड पक्ष छाडेर बामदेवतिर लागेका छन् ।
अर्काेतिर, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका २ प्रदेशसभा सदस्य ओली पक्षमा आएका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी कला घले र मोरङकी बसन्तीदेवी यादव ओली पक्षमा लागेका जनाइएको छ । घले प्रत्यक्ष निर्वाचित हुन् भने यादव समानुपातिक सांसद रहेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।